काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ ।
सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीको शाहको निजी सचिवालयका अनुसार अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छलफलमा सहभागी हुनुहुन्छ।
राससका अनुसार, प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गर्नुभएको छ ।
उहाँले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले राससलाई जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भन्नुभयो । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताउनुभयो ।

“सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ”, सांसद खड्काले भन्नुभयो ।
सांसदहरुले प्रस्तुत गर्नुभएका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिनुभएको उहाँले बताउनुभयो । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गर्नुभएको थियो ।