• २० फागुन २०८२, बुधबार

कञ्चनपुरमा उम्मेदवार विरुद्ध उजुरी

blog

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, फागुन २० गते । कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै एक उम्मेदवार विरुद्ध उजुरी परेको छ । बिहिबार कञ्चनपुर निर्वाचन क्षेत्र २ का उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका योगेन्द्र बहादुर साउद विरुद्ध उजुरी परेको हो । 

मौन अवधि सुरु भए पश्चात् निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिनुभएका साउद विरुद्ध उजुरी परेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिनुभएका साउदले मौन अवधि सुरु भए पश्चात् सो पार्टी परित्याग गर्दे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन जनाउनुभएको थियो ।

बुधबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गर्दे उहाँले रास्वपाका उम्मेदवारलाई समर्थन जनाएको उल्लेख गर्नुभएको थियो । मौन अवधि सुरु भएपश्चात् निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै नेपाली काँग्रेशका नेताहरुले उजुरी दिनुभएको जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक-सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताउनुभयो । 

यसैगरी जिल्लामा हाल सम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका ५ उजुरी परेको जोशीले बताउनुभयो । आचारसंहिता विपरीत परेका उजुरीमाथि छानबिन गरिने उहाँले बताउनुभयो ।