काठमाडौँ, चैत १७ गते । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सोमबारदेखि सुरु भएको महिलाहरुको स्तन, पाठेघर र सर्भाइकल क्यान्सर परीक्षणको पहिलो दिन १३६ जनाले परीक्षण गराएका छन् ।
स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पतालमा जाँच गराएका हुन्। जाँचमा सहभागीमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र तीन जनाको परिवारमा सर्भाइकल क्यान्सरको इतिहास रहेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शुभारम्भ अवसरमा स्वास्थ्य जाँच गराउनुभयो। उहाँले भन्नुभयो, “समयमै पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लिन्छ र परिवारको आर्थिक अवस्था कमजोर बनाउँछ। जाँच गरेर समयमा उपचार सुरु गर्न सकियो भने जीवन बचाउन सकिन्छ। महिलाहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्दछु।”
कार्यक्रममा प्रा.डा.भुपेन्द्रकुमार बस्नेत, चिकित्सा विज्ञा प्रतिष्ठानका उपकुलपति, र प्रा. डा. दिलिप शर्मा, वीर अस्पतालका कार्यकारी निर्देशक, ले कार्यक्रमको महत्त्व र महिलाहरुमा क्यान्सरसम्बन्धी चेतना बढाउने आवश्यकता औँल्याउनुभयो।
क्यान्सर रोग विशेषज्ञ प्राडा सन्ध्या चापागाईँले एचपीभी पोजिटिभ हुनु क्यान्सर हुनु होइन, तर यसबाट संक्रमण भएर क्यान्सर हुने जोखिम रहन्छ भनी स्पष्ट पार्नुभयो। यस वर्षको परीक्षणमा एचपीभी ६, ११, १६, १८, ३१, ३३, ४५, ५२ र ५८ को पनि जाँच समावेश गरिएको छ।
कार्यक्रममा उपचार अनुभव साझा गर्दै सस्मिता कार्की थापा र बिमला पौडेलले जाँच र समयमै उपचार पाउँदा जीवन बचाउन सकिएको अनुभव सुनाउनुभयो।
विशेषज्ञहरुका अनुसार ३०–६० वर्ष उमेर समूहका महिलाले हरेक ५ वर्षमा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउनुपर्छ। उच्च जोखिममा पर्ने महिलामा धेरै यौन साझेदार, कम उमेरमा यौन सम्पर्क, एचआईभी संक्रमण, धुमपान, प्रतिरक्षा प्रणाली कमजोर हुनु र बारम्बार गर्भवती हुनु जस्ता कारण पर्दछन्।
कार्यक्रमले महिलाहरुको स्वास्थ्य जाँचमा पहुँच विस्तार गर्दै प्रारम्भिक अवस्थामै क्यान्सर पत्ता लगाएर उपचार सुरु गर्न मद्दत गर्ने लक्ष्य राखेको छ।