• २० फागुन २०८२, बुधबार

मतदान केन्द्रमा अवरोध गर्ने कर्मचारी नियन्त्रणमा

blog

रानी समाचारदाता

रानी, फागुन २० गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङमा प्रशासन र प्रहरी दुबैले कडा कदम चालेका छन् । मतदान केन्द्रमा अवरोध पुर्याउने एक कर्मचारीलाई नियन्त्रणमा लिइएको छ भने मतदान नसकिएसम्म मतदानस्थल आसपासका होटल व्यवसाय पूर्ण रूपमा बन्द गरिने निर्णय लागू गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको (ग) मतदान केन्द्रमा खटिएका नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका ३७ वर्षीय सहायक पाँचौँ तहका कर्मचारी रञ्जित सिवाले मतदान अधिकृत र अन्य कर्मचारीसँग झै–झगडा तथा गालीगलौज गर्दै निर्वाचन प्रक्रियामा असहयोग गरेपछि नियन्त्रणमा लिइएको हो । उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङ ले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन कडा सुरक्षा रणनीति लागू गरेको छ । प्रशासनले फागुन २१ गते बिहान ६ः०० बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मतदानस्थल वरपर ५०० मिटरसम्मका होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार तथा गीत–गजल लगायतका सम्पूर्ण व्यवसाय बन्द गर्ने आदेश जारी गरेको छ ।

प्रशासनले सूचनाविपरीत कुनै गतिविधि भए प्रचलित कानूनअनुसार तुरुन्त कारबाही हुने स्पष्ट चेतावनी दिएको छ । साथै, निर्वाचन अवधिभर अशान्ति, हुलदंगा वा अवाञ्छित गतिविधि भए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) बमोजिम कडा कदम चालिने उल्लेख गरिएको छ ।

जिल्ला सुरक्षा समिति र सुरक्षा अनुगमन घुम्ती टोलीलाई जिल्लाभर परिचालन गरिएको छ ।