• ९ पुस २०८२, बुधबार

थाकखोलाबाट फैलिएका थकाली

blog

थकालीहरूले आफ्नो थर पनि भोट–बर्मेलीबाट हिन्दु नेपाल शैलीमा परिवर्तन गरे । जस्तै तिम्त्सेनबाट शेरचन, चोएकीबाट गौचन, साल्कीबाट तुलाचन र बुर्कीबाट भट्टचन । यस प्रकारले कालुराम तिम्त्सेनलाई अचेल सुब्बा बलवीर शेरचन भनिन्छ ।

थाकखोलाको आसपासबाट विकसित भई देशका विभिन्न सहरमा फैलिएको थकाली जातिलाई उन्नत जातीय समुदाय मानिन्छ । इस्वीको १९ औँ शताब्दीको मध्यदेखि (सन् १८५७–०५८) हिमाली क्षेत्रमा थकाली शक्ति उदय भएको थियो । 

सन् १८५७–०५८ मा नेपाल–तिब्बतबिच युद्धका बेला प्रधानमन्त्री जनरल जङ्गबहादुर राणाले थकाली नेता कालुराम तिम्त्सेनलाई तिब्बती भाषाको दोभाषेका रूपमा नियुक्त गरेका थिए । उनले तिब्बती जनजीवन, संस्कृति, परम्परा र हिमाली क्षेत्रका गतिविधिका विषयमा विशेषज्ञकै रूपमा काम गरे । उनले दिएका सूचनाले तिब्बत युद्धमा नेपाललाई सफलता प्राप्त भएपछि कालुरामको सम्बन्ध राणा सरकारसँग अझ बढ्न पुग्यो । प्रधानमन्त्री जङ्गबहादुरले खुसी भएर बलवीर भन्ने पद्वीका साथै कालुरामलाई सुब्बाको अधिकारसमेत दिएको इतिहासमा पाइन्छ । 

जापानी अनुसन्धानकर्ता सिगेरु इइजिमा र योसिकाजु ताकायाले थकाली र नेपालको खेतीपाती (२०४५) मा उल्लेख गरे अनुसार राणा परिवार जस्ता काठमाडौँको उच्च हिन्दु समाजसँग थकालीहरूको निकट सहचार्यले गर्दा तिनीहरूले आफ्नो संस्कृति तथा समाजको  हिन्दुकरण गर्न थाले । यस क्रममा थकालीहरूले आफ्नो थर पनि भोट–बर्मेलीबाट हिन्दु नेपाल शैलीमा परिवर्तन गरे । जस्तै तिम्त्सेनबाट शेरचन, चोएकीबाट गौचन, साल्कीबाट तुलाचन र बुर्कीबाट भट्टचन । यस प्रकारले कालुराम तिम्त्सेनलाई अचेल सुब्बा बलवीर शेरचन भनिन्छ । 

बलवीर शेरचनले भोटे–नुनको व्यापार गर्ने एकाधिकारसमेत पाए । माथिल्लो कालीगण्डकीबेँसी र त्यस छरछिमेकको न्यायाधीशको पद पनि पाए । उनी तिब्बततिरसमेत उत्तिकै विश्वासिला थिए । थाकखोला क्षेत्रका थकाली समुदायलाई थाकसातसाई भनिन्छ । जहाँ १३ वटा गाउँ पर्दछन् । सो क्षेत्रमा लामो समयसम्म थकाली समुदायको स्वायत्त सङ्गठन सक्रिय थियो । 

राणा सरकारले थाकखोलाको नजिकै दक्षिणतिर पर्ने दानामा न्यायालय खोलेर थकालीलाई नियमित प्रशासकीय व्यवस्था अन्तर्गत ल्याउन प्रयास गरेको थियो तर थकाली धर्म पञ्चायतले त्यसलाई स्वीकार गरेन । राणा शासनको पतनपछि पनि प्रशासकीय अधिकार मात्र होइन व्यवस्थापकीय अधिकारसमेत थकाली धर्म पञ्चायतले राखेको थियो । स्थानीय पुल, बाटो बनाउने जस्ता योजना उनीहरू आफैँ बनाउँथे भनी ‘थकाली र नेपालको खेतीपाती’ पुस्तकमा उल्लेख गरिएको छ ।

सो पुस्तकमा भनिएको छ, “थकाली धर्म पञ्चायतमा १३ जना स्थायी सदस्य हुन्थे । जसमा प्रायः मुखिया अथवा गाउँका अगुवा हुन्थे । कहिलेकाहीँ कुनै महत्वपूर्ण समस्याको समाधानमा राय बाझेमा बाधा पर्‍यो भने थाकखोलाको गाउँको आमनिर्वाचनबाट सामान्यतः अस्थायी सदस्य चुनिएर सो धर्म पञ्चायतमा पठाइन्थे ।” 

सूचना विभागद्वारा प्रकाशित मेचीदेखि महाकाली (भाग ३, २०३१) मा भनिएको छ, “मुस्ताङ जिल्लाको टुकुचेलाई थाक सात सय (सात सय घर भएको थकाली प्रदेश) को परम्परागत राजधानी हो भन्न सकिन्छ र यो अध्ययनमा पनि टुकुचेदेखि घासासम्मको थाकखोला क्षेत्रलाई थकाली क्षेत्र मानिएको छ । हुन त ठिनी, जोमसोम, स्याङ, छेरो आदि गाउँमा केन्द्रित ठिन्यालहरू पनि रहनसहन र रीतिथितिको समानताका आधारमा आफूलाई थकाली नै भन्दछन् ।”

अनुसन्धान पत्रिका खाङ्लो (२०७५) मा प्राडा दानराज रेग्मी र डा. अम्बिका रेग्मीको ‘थकाली भाषाको वर्तमान समाज भाषा वैज्ञानिक स्थितिः समीक्षात्मक विश्लेषण’ लेखमा भनिएको छ, थकाली शब्दको उत्पत्ति थाकबाट भएको हो (तुलाचन, २०७३ विसं) थकाली मङ्गोल समूहको एउटा उच्च सुविधायुक्त (जष्नजथि उचष्खष्भिनभम) जातिभाषिक समुदाय (भतजलय(ष्लिनगष्कतष्अ) हो । 

थकाली जातिका सामाजिक संस्कार तथा पर्वहरू (२०७७, थकाली अनुसन्धान केन्द्र) पुस्तकको प्राक्कथनमा लेखक भन्द्र भट्टचनले च्योकी (गौचन), साल्की (तुलाचन), ट्हिमचन (शेरचन) र प्हुर्की (भट्टचन) चार थरी थकाली हुने प्रस्ट पारेका छन् । उनले “थकालीहरूको मूल थलो थासाङ (थाक सात सय) हो । जुन हिजोआज थाकखोलाको नामले प्रख्यात छ,” भनेका छन् ।  

सिगेरु इइजिमा र योसिकाजु ताकायाको थकाली र नेपालको खेतीपाती (२०४५, अनुवादः माधवप्रसाद पोखरेल) पुस्तकमा “थकालीहरू नेपालको हिमालयमा अन्नपूर्णा र धौलागिरि शृङ्खलाका बिचमा पर्ने थाकखोला क्षेत्रको उपत्यकामा बस्ने मङ्गोल जाति हुन् । थकालीहरू मध्य हिमालय क्षेत्रमा पाइने सबभन्दा विख्यात व्यापारी वर्गमध्ये रहेको कुरा अधिराज्यभर विदितै छ ।” भनिएको छ । 

डोरबहादुर विष्टको सबै जातको फूलबारी (२०५५, सातौँ सं.) मा “थकाली भन्ने नाम थाकखोलाको थाक सात सय भन्ने कालीगण्डकी डोलको हिमाली भागको ठाउँसम्म गाँसिएर आएको हो ।” उल्लेख छ । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सूचीकृत गरेका ५९ जातिमध्ये थकाली जातिलाई उन्नत जातीय समूहमा राखिएको छ ।

प्राडा दानराज रेग्मी र डा. अम्बिका रेग्मीका अनुसार थकाली शब्दले थकाली जाति र सो जातिले बोल्ने थकाली भाषा दुवैलाई जनाउँछ । थकालीले आफ्नोपनमा भाषालाई ‘थासाङ्तन तम कंडा’ वा ‘तामाङ कइ’ भन्ने गरेको पाइन्छ । यस भाषामा ‘कंडा’ को अर्थ भाषा वा बोली भन्ने बुझिन्छ । 

२०५८ सालको राष्ट्रिय जनगणनाले थकालीलाई एउटा छुट्टै भाषाका रूपमा मान्यता दिएको थियो । सो जनगणना अनुसार नेपालमा थकाली जातिको जनसङ्ख्या १२ हजार ९७३ रहेको थियो । जसमा पुरुष छ हजार २१६ र महिला छ हजार ७५७ थिए । राष्ट्रिय जनगणना २०६८ अनुसार थकाली जातिको जनसङ्ख्या १३ हजार २१५ थियो तर वक्ताको सङ्ख्यामा कमी हुँदै गएको देखाइयो । यस जनगणना अनुसार हिमाल, पहाड र तराईका २९ जिल्लामा बसोवास गर्ने थकालीको कुल जनसङ्ख्यामध्ये ३९.७ प्रतिशत (अर्थात पाँच हजार २४२ जना) ले मात्र थकाली भाषा बोल्दथे । जनगणना २०७८ अनुसार पुरुष पाँच हजार ६२० र महिला छ हजार १२१ गरी जम्मा ११ हजार ७४१ जनसङ्ख्या थकालीको छ । भाषाशास्त्रीहरूले थकाली भाषाको नजिकको सम्बन्ध तामाङ र गुरुङ भाषासँग रहेको मान्दै आएका छन् । यो भाषाको वक्ता  क्रमशः घट्दै गएको देखिन्छ ।

प्राडा दानराज रेग्मी र डा. अम्बिका रेग्मीका अनुसार यस जातिभित्र जम्मा चार थर छन् । गौचन, तुलाचन, शेरचन र भट्टचन । हरेक थरका आआफ्नै देवता छन् । यस समुदायका मानिसले हरेक १२ वर्षमा सामूहिक रूपमा ती सबै देवताको पूजा गर्दछन् । थकालीको प्रमुख पेसा खेती नै हो । पहिले थाक सात सयमा १३ वटा गाउँ थिए । वा यी गाउँलाई मुखियाले चलाउँदथे (तुलाचन, २०६४ विसं) । पहिले थकालीहरू नुनका एकलौटी व्यापारी थिए । अचेल भने थकालीहरू होटेल, उद्योग, व्यापार र जागिरमा लागेको देखिन्छ । 

ल्हफेव उनीहरूको प्रमुख चाड हो । थकाली जातिका बारेमा स्वदेशी तथा विदेशी विद्वान्ले गहिरो अध्ययन गरेका छन् तर थकाली भाषाका बारेमा भने त्यति गहिरो अध्ययन भएको पाइँदैन । तैपनि भाषा जागरणको प्रयास भने भएका छन् (तुलाचन, २०७२ विसं) ।


जीवनका कर्म साङ्तेव (न्वारन)

थकाली समुदायमा तीन दिन वा ५, ९ र ११ दिनमा साङ्तेव गर्ने चलन छ । धूपबत्ती बाली फूल–जलले आमा र शिशुलाई छर्केर साङ्तेव (न्वारन) गरिन्छ । यसै दिनमा बच्चाको नाम राख्ने गरिन्छ । सुत्केरी वा शिशु बिरामी भई अस्पतालमै बस्नुपर्ने भएमा घर फर्केपछि साङ्तेव गर्ने चलन छ । 

न्वारन गर्दा ट्होम, ट्हुङ्व वा लामा उपलब्ध नभएमा ज्वाइँबाट समेत साङ्तेव गरिन्छ । शिशु जन्मेको साल, गते, दिन, बार, घडी र पलाका आधारमा शिशुको वर्ग (ल्हे) पहिचान गरी नाम राखिन्छ । न्वारनमा दाजुभाइ, मूल माइती र ज्वाइँ चेलीबेटी बोलाइन्छ । 

कनखाव (पास्नी) 

कनखावलाई भात खुवाई पनि भनिन्छ । शिशु पाँच वा छ महिना पुगेपछि कनखाव गरिन्छ । ट्हुङ्व वा लामाले पञ्चतत्व भगवान्को पूजा गरी साइत निकाल्छन् । साइत उपलब्ध भएपछि न्याउरी चराको चुच्चो वा सुनको जलेशीले छोएर सुरुमा लामाले खुवाएपछि फुपूले र घरका अन्य परिवारले बच्चालाई खाना खुवाउने गरिन्छ ।

यो संस्कारमा फुपूको बढी भूमिका रहन्छ । यो संस्कारमा फुपू र मामाको अनिवार्य उपस्थिति रहने चलन छ ।

छ्योवर (चूडाकर्म)

थकाली जातिमा यो महत्त्वपूर्ण संस्कारका रूपमा लिइन्छ । छ्योवर गर्दा बिजोर वर्ष छानिन्छ । पाँचौँ, सातौँ, नवौँ वा एघारौँ वर्ष पुगेका कुमार केटाको केश मुण्डन गरी छ्योवर गर्ने चलन छ । यो संस्कारको विधिमा विशेषतः लामा तथा मामाको महत्त्वपूर्ण भूमिका रहन्छ । 

छ्योवर गर्ने बालकलाई गुम्बामा लगेर वा लामालाई घरमा बोलाएर विधिविधान गरिन्छ । लामाको विधिबाट बच्चाको कपालको थोरै अंश काटी विधिवत् पूजा गरिन्छ र मामाबाट कुमार केटाको केश काट्ने गरिन्छ । फुपू वा दिदीले चरेस वा अन्य थालमा केस थाप्ने चलन छ । केश थापेबापत फुपू वा दिदीलाई दक्षिणा दिइन्छ ।

न्होकोन चोलो (गुन्युचोलो)

बिजोर वर्षको उमेरमा छोरीको न्होकोन चोलो गर्ने चलन थकाली समुदायमा छ । यो विधि पनि ट्होम, ट्हुङ्व वा लामामार्फत गराइन्छ । छोरीलाई न्होकोन चोलो (गुन्यु चोली) लगाई आशीर्वाद दिइन्छ । यस कार्यमा नजिकका दाजुभाइ, माइती र चेली ज्वाइँलाई बोलाइन्छ । कतिपयले गाउँले, इष्टमित्रसमेत बोलाई न्होकोन चोलो गर्दछन् । थकाली जातिमा न्होकोन चोलो संस्कार महत्त्वपूर्ण रीतिरिवाजका रूपमा लिइन्छ ।

खिमी च्हुव (विवाह संस्कार)

थकालीको विवाह संस्कार मौलिक छ । थकालीको विवाहमा केटीको फुपू र ठूलो दिदीको महत्त्वपूर्ण भूमिका रहन्छ । थकाली जातिको पुरानो चलन अनुसार केटी छोप्ने अर्थात् केटीलाई मेला–पर्व, पँधेरो वा धारोमा पाएको बेला एक्लै बलजफ्ती तानेर ल्याउने गरिन्थ्यो । केटीलाई दुई/चार दिन थुनेर राखी केटीका बाबुआमासँग बिन्तीभाउ, सरसल्लाह गरी कुरा मिलेपछि खिमीच्हुजी गर्ने र त्यसपछि बिहेको उत्सव तथा भोज गर्ने प्रचलन २००६ सालअघिसम्म थासाङमा थियो तर अहिले यो प्रचलन पूर्णतया लोप भएको ‘थकाली जातिका सामाजिक संस्कार तथा पर्वहरू (२०७७)’ पुस्तकमा उल्लेख छ । 

डोरबहादुर विष्टले सबै जातको फूलबारीमा लेखेका छन्, थकालीको चार थर गौचन, तुलाचन, शेरचन र भट्टचनको थरभित्रै बिहाबारी हुन सक्दैन । मामाचेलाचेली र फुपूचेलाचेलीको बिहा धेरै जसो वाञ्छनीय ठहराइन्छ ।

उनले लेखेका छन्, “पुरानो चलनमा केटी छोप्ने अर्थात् केटीलाई मेला, पर्व वा पनेरो, धारोमा पाएको बेला एक्लै पारेर बलजफ्ती घिच्याएर ल्याई दुई–चार दिन थुनेर राखी केटीका बाबुआमासँग बिन्तीभाउ, सरसल्लाह गरी कुरा मिलेपछि बिहेको उत्सव र भोज गर्ने चलन छ । वास्तवमा बलजफ्ती केटी छोपेर घिच्याउने भन्ने पनि विधि पुर्‍याउनेसम्म मात्र हो । केही अंशमा दुवैतर्फको आशय बुझेर कुरा नमिलेसम्म त्यसै अचानक यस्तो बलजफ्ती गर्ने काम धेरै जसो गरिँदैन ।”

थकाली र नेपालको खेतीपाती (२०४५) मा सिगेरु इइजिमा र योसिकाजु ताकायाले “थकाली समाजमा सगोत्री विवाह चल्दछ र यो तिमसेन, चोएकी, साल्की र बुर्की यी चार प्रकारका विजातीय पैत्रिक वंशज मिलेर बनेको हो । यिनीहरूका केही प्रकारको सामाजिक रीतिथितिमा देखिने विभेदबाहेक जातिपातीको भेदभाव त्यतिसारो कट्टर भएको पाइँदैन,” भनेका छन् ।

थकाली जातिको विवाहमा खिमी च्हुव महत्वपूर्ण विधि मानिन्छ । थकाली समुदायमा हाजी (छोपी), मागी विवाह, भागी विवाह वा प्रेम विवाह जुनसुकै तरिकाले स्वजातिभित्रको विवाहमा खिमी च्हुजी विधि गर्नु अनिवार्य मानिन्छ । हिमी च्हुजी गरेपछि मात्र त्यो विवाहले सामाजिक मान्यता प्राप्त गर्दछ । 

थकाली जातिका सामाजिक संस्कार तथा पर्वहरू (चन्द्र भट्टचन) मा लेखिएको छ, खिमी च्हुजी गर्दा खिमी, न्हमी प्हरफ्याजी गर्नुपर्ने हुन्छ । खिमी च्हुजी गर्दा खिमीका लागि खालो र न्हमीका लागि चोप्कर (सुनको जन्तर) आवश्यक पर्दछ । खिमी च्हुव (बसाल्ने) भन्नाले पितृहरूको आशीर्वाद लिएर सम्बन्ध पक्का गरी दुलहीको खिमी अर्थात् क्ह्यु (गोत्र) बाट दुलाहाको क्ह्यु अर्थात् खिमीमा सारिने विधिलाई जनाउँछ । 

चन्द्र भट्टचनका अनुसार मागी विवाहमा टीकाटालो हुनुभन्दा अगाडि खिमी च्हुव गर्ने कार्य सम्पन्न गरिसकेको हुनु पर्दछ । छोपेर वा उठेर गएमा खिमी च्हुव तीन दिनभित्र गरिसक्नु पर्दछ । खिमी च्हुव कार्य सम्पन्न गर्दा न्हमी च्हुव कार्य पनि गरिन्छ । न्हमी भन्नाले केवल पितृ बाजेहरूको मात्र आशीर्वाद मात्रले नपुगी पितृ बजैहरूको पनि अनिवार्य आशीर्वाद लिने कार्यलाई जनाउँछ ।

उनका अनुसार थकाली समुदायको खिमीच्हुव संस्कार विवाह पक्कापक्की गर्ने विधि हो । खिमी च्हुजी गरेपछि केटाकेटीलाई सँगै बस्ने र श्रीमान्श्रीमतीको व्यवहार गर्न समाजले मान्यता दिन्छ । केटा अथवा केटीको मृत्यु भएमा किरिया गर्नुपर्ने हुन्छ । परिवारकै सदस्य सरह जुठो लाग्छ र बार्नु पर्छ ।

म्हाङ्¥हाव (ट्होम विधिबाट गरिने मृत्यु संस्कार)

थकाली जातिमा मृत्यु संस्कार ट्होम्, ट्हुङ्व वा लामा विधिबाट गरिन्छ । थकालीमा कसैको मृत्यु भएमा एकाघरका दाजुभाइ, दिदीबहिनी र ज्वाइँलाई खबर गरिन्छ । शवलाई घरमै वा समाजघरमा लगेर राखिन्छ । 

घरको मूल ज्वाइँले मृत्युको खबर सबैतिर पु¥याउने गर्दछन् । थकाली सदस्यको मृत्यु भएको सूचना पाएपछि स्थानीय प्रत्येक थकाली परिवारबाट सकेसम्म मलामी जानु पर्दछ ।

एक जनाले चार हातको सेतो कपडाको त्हर्तुङ (सेतो झन्डा, ध्वजा) बनाई शवको अगाडि लिएर जान्छ । त्हर्तुङ बोक्ने कार्य बाबुआमा नभएका दाजुभाइमध्येले गर्नु पर्दछ । यदि दाजुभाइ नभएमा क्होइजी (नातेदार) लाई बोलाएर समात्न लगाउनु पर्दछ । किरिया कर्म सात वा बढीमा नौ दिनमा सम्पन्न गरिन्छ । मृतकको अस्तुलार्ई सात दिनसम्म म्हेन्दो स्थापना गरी पूजाआजा गर्ने गरिन्छ । 

चन्द्र भट्टचनका अनुसार जेठी छोरीलाई म्हात्हुङ् (अन्त्येष्टि किरियापछि जेठी छोरीले पाउने दान) दिने चलन भएकाले ज्वाइँको भूमिका महत्वपूर्ण हुन्छ । विवाहित छोरीहरूलाई क्होइला र मेक्रोन, अविवाहित छोरीलाई म्रेकोन दिइन्छ । थकालीहरूको मृत्यु जहाँ भए पनि मृतकको अस्तुलाई थासाङ (थाक सात सय) को आफ्नो क्ह्युको खिमीघरमा राख्ने चलन छ ।

च्ह्याङ्पर्ची ट्हुड्व वा लामाबाट पनि गरिन्छ । विगतमा ४९, १३, ९, ७ र ३ दिनमा किरिया शुद्धि गर्ने चलन भएको चन्द्र भट्टचनले उल्लेख गरेका छन् तर थकाली सेवा समिति नेपालको सातौँ महाधिवेशनको निर्णयले बढीमा एक दिनमा किरिया शुद्धि गरी चोख्याउने गरिएको छ । अहिलेचाहिँ तीन, पाँच वा सात दिनमा किरिया शुद्धि गरेर चोख्याउने विधिलाई प्राथमिकता दिन थालिएको छ ।

चाडपर्व, धर्म संस्कृति

चार थरका मानिसको अलग अलग आआफ्ना कुलदेवता हुन्छन् । अनि ती कुलदेवताको १२ वर्षमा एकपल्ट धूमधामसँग पूजा, जात्रा र भोज आदि गरिन्छ । यस जात्रालाई थकाली भाषामा ह्ला फेवा भन्ने चलन छ ।

कुमार केटाको कुमारजात्रा पनि गर्ने चलन छ । यसमा पाँचदेखि आठ वर्ष उमेर पुगेका केटालाई घोडा चढ्ने, धनुकाँड हान्ने, गीत गाउने र नाच्ने आदि सिपलाई धार्मिक विधिपूर्वक सिकाइन्छ । आआफ्नो खलकको मूलघरमा जम्मा भएर पितृपूजा गर्ने अर्को चाड हुन्छ । हिन्दु धर्म अनुसारका चाड दसैँ आदि तथा लामा धर्म अनुसार गुम्बामा हुने लामा बौद्ध धर्मका पूजा र पर्व पनि मनाउने गरिन्छ । 

मेचीदेखि महाकाली (भाग ३, २०३१) अनुसार थकालीहरूको प्रमुख चाड ह्ला फेवा हो । तिब्बतीय पात्रो अनुसार हरेक १२ वर्षमा आउने ‘बाँदर वर्ष’ पारेर कात्तिक महिनामा गरिने यो उत्सवलाई १२ बर्से जात्रा वा ‘कुम्भ मेला’ पनि भन्ने चलन छ । 

सातदिने यो जात्रा थकालीको देवाली वा कुलदेवता पूजा हो र यसमा चारै थरका थकालीको कुलदेवताको जुलुस निकालिन्छ  । हरेक कुलदेवताको पुजारी (पाण्डे) बेग्लै हुन्छ र यो अवसरमा तिनीहरूले हरेक घरका आदिपुरुषको जीवनी तथा यात्रा–वर्णन भएको धार्मिक ग्रन्थ पाठ गर्छन् ।   

  –युवामञ्च