अल्पसङ्ख्यक हिमाली जाति हो– ल्होमी । यो जाति तिब्बत भूमिबाट शताब्दीयौँ पहिले नेपाल प्रवेश गरेको मानिन्छ । यो जातिलाई शिङसावा, स्यीङ्साबा वा कारभोटे, भोटिया भनेर पनि चिनिन्छ ।
छिङचिप्पा भोटे लामा (ल्होमी) को लोपोन्मुख ल्होमी भाषा तथा साहित्यको वर्तमान अवस्था पुस्तकका अनुसार ल्होमी जातिलाई भोटे, शिंसावा, कारभोटे, काठभोटे, लामा जस्ता शब्दले पनि सम्बोधन गरिन्छ ।
उत्तरी सङ्खुवासभाको माथिल्लो अरुण र बरुण उपत्यका आसपासमा लामो समयदेखि ल्होमी जातिको बसोबास रहँदै आएको छ । डोरबहादुर विष्टको पिपल अफ नेपाल पुस्तकका अनुसार तिब्बतको फेरुक (खार्ता) क्षेत्र र ल्होमीहरूबीच वस्तु विनिमयमा आधारित व्यापार चल्दथ्यो । दुईपक्षीय आपसी सम्बन्ध तथा व्यापार सिलसिलामा दोहोरो रूपमा आइजाइ चल्ने गथ्र्यो ।
‘ल्होमी’ शब्द तिब्बतको फेरुक (खर्ता) क्षेत्रको बुझाइमा स्थानीय दुई शब्द ‘ल्हो‘ भन्नाले दक्षिण र ‘मे’ वा ‘मी’ भन्नाले मानिस भन्ने अर्थमा ल्होमे हुँदै कालान्तरमा ल्होमी या दक्षिणी मानिसका रूपमा भन्न थालिएको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपालका आदिवासी जनजाति ज्ञानकोश (२०८२)’ अनुसार तिब्बती भाषामा ‘ल्हो’ भन्नाले दक्षिण दिशा र ‘मी’ भन्नाले मानिस भन्ने अर्थ लाग्छ । अर्थात् दक्षिण दिशाका मानिस भन्ने अर्थमा ‘ल्होमी’ भनिएको हो भन्ने भनाइ छ ।
सो पुस्तकमा भनिएको छ, “ल्होमी जातिको उद्भव तिब्बत हो । जहाँबाट सदियौँ पहिले उनीहरू नेपाल पसेका थिए । नेपालमा उनीहरूको थातथलो पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको उत्तरी भेगमा रहेको हिमाली भू–भागका विकट गाउँहरू जस्तैः चेपुवा र हटिया हुन् ।”
ल्होमी जातिको बसोबास नेपालको किमाथाङ्का नाकाभन्दा पारि तिब्बतको डेन्दाङ, लुङ्देक क्षेत्रमा पनि पाइन्छ । भारतको पश्चिम बङ्गालको दार्जिलिङ र कालिम्पोङलगायत क्षेत्रमा समेत ल्होमी जातिको बसोबास रहेको छ ।
ल्होमी शब्दकोश अनुसार ल्होमी (शिङ्साबा) वंशमा दुई दर्जनभन्दा बढी थर छन् । थिकेपा, नुप्पा, पोङ्स्युव, खुम्बुवा, भोच्याब, ज्यवस्यारिङाप्ताक, लिङ्बो, फेक्नाक, मोनाङ, चाङ्बा, खाम्बा, ढाक्तोक्प, ल्होरुङ, गाङ्दोक्पा, घुक्मुवा आदि गरी दुई दर्जनभन्दा बढी थर रहेका छन् । थिकेपा थरभित्र पनि पुबुकाम्म, उच्येन्टेस्यी, भिस्यिङ्च्येम्म, ढोङ्मेप, थुज्यिब, पेछिरिङ, रप्तेम्ब, ढोङ्देप्प, पेज्यबा, सेक्नेपेदेन, हमुवा, बक्हुछ्या आदि उपथर रहेको देखिन्छ ।
त्यस्तै नुप्पा थरभित्र सोनरिन्ज्येन (ढोङ्दोप्प), युगोक्प, हमोव, सेच्या, गुम्बुक्प, लाप्राङ, लालिन्सवा, ल्हामुछिरिङ, याङ्जनुप्पु, पेरुव भलुङ–लोबाङलगायत उपथर पाइने ल्होमी शब्दकोशमा उल्लेख छ ।
छिङचिप्पा भोटे लामा (ल्होमी) लिखित ‘लोपोन्मुख ल्होमी भाषा तथा साहित्यको वर्तमान अवस्था’ पुस्तकमा ल्होमी जातिमा मुख्य गरी थिकेप्पा, नुप्पा, पोङसुवा, ढागुवा, खुम्बुवा, लिङबो थर रहेका छन् भनिएको छ । छिङचिप्पाले लेखेका छन्, “ल्होमी जातिभित्र थिकेप्पा थरका मानिसको सङ्ख्या सबभन्दा बढी छ । थिकेप्पा थरको सन्दर्भमा ल्होमी क्षेत्रमा एउटा भनाइ नै पाइयो । जस अनुसार ‘थकेक ज्य गुप्च्यु’ जसको नेपाली अर्थ ‘एक सय नब्बे थरी’ भनेर चिकेप्पाको विषयमा यो भनाइ चलनचल्तीमा रहेको पाइयो । यी थरका मानिस तिब्बतको यिकेक ल्होगाक भन्ने ठाउँबाट आएको भन्ने भनाइ पाइयो ।”
विकेप्पाभित्र पनि यी उपथर पाइयो– पेज्यवा, स्याङ्दरा, सेक्नेपेदेन, हमोवा, पुवुकाम्म, पेछिरिङ, उच्येन्टेस्यी, थुज्यिव, भिस्यिङ च्येम्म, ढोडमोक्म, रप्तेम्ब, ढोडतेप्व, इगोक्म, बक्हुछ्या, लोडमिक्म, घोडमा, भयसिङ च्येम्म, र स्यालिङ थरका छन् भनी लेखक छिङचिप्पाले पुस्तकमा उल्लेख गरेका छन् । ल्होमी शब्दकोश अनुसार ल्होमी शिङ्साबहरूले आफ्नो भाषालाई ल्होकेत् भन्छन् । यो भाषा भोट–बर्मेली भाषा परिवारभित्र पर्दछ ।
सङ्खुवासभा जिल्ला भोटखोला गाउँपालिकाको हटिया (दाम्दामामुक), होङगोङ (पाङ्दोक), चेपुवा (थाङ्मुछ्यी), च्याम्ताङ (दाम्दाङ्म), गुम्बा (गोम्ब), लिङ्गाङ (लिङ्गम्), रुकम (रुकुमा), स्याक्सिला (सेक्सुम), सेम्बुङ्, नामासे (नामुछ्यी), सिप्रुङ् (छिगुलुङ) आदि गाउँठाउँमा एकल भाषिक समुदायका रूपमा ल्होमी भाषा बोल्ने गरिन्छ ।
ल्होमी बसोबास क्षेत्रको केन्द्रविन्दुमा रहेको चेपुवा गाउँमा बोलिने भाषाको लवजलाई मानक भाषाका रूपमा लिइएको छ । ल्होमीहरू सम्भोटा लिपी प्रयोग गर्छन् । ल्होमी भाषाले हिमाली क्षेत्रमा बोलिने शेर्पा, नाबा, ल्होवा, डोल्पो, ह्योल्मो, नुप्री आदि भाषासँग सामीप्य राख्ने ल्होमी शब्दकोशमा उल्लेख छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ६० आदिवासी जनजातिमध्ये ल्होमी अति सीमान्तकृत भाषिक समूहमा पर्दछ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार ल्होमी जातिको जनसङ्ख्या ३५५ मात्र छ । त्यसमा पुरुषको सङ्ख्या १७७ र महिलाको १८५ रहेको छ तर २०६८ को जनगणनामा यो जातिको सङ्ख्या एक हजार ६१४ उल्लेख गरिएको छ । कतिपय ल्होमीले सरकारी कागजमा भोटे भनेर लेख्ने गरेकाले यो सङ्ख्यामा यति धेरै घटबढ भएको हुन सक्छ ।
ल्होमी जातिको परम्परागत व्यापार हिमाली जडीबुटी हो । हिमाली क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरी ल्होमीहरू हिउँदमा पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा बेच्दै हिँड्छन् । यिनीहरू मुख्यतः कृषि र पशुपालनमा संलग्न देखिन्छ । तथापि अहिले पर्यटन व्यवसाय र वैदेशिक रोजगारीका क्षेत्रमा समेत ल्होमीहरू छन् ।
ल्होमी र ल्होसार
प्रकृतिपूजक ल्होमीले बौद्ध धर्म मान्छन् । उनीहरू प्रकृतिको पनि पूजा गर्छन् । प्रकृतिपूजक ल्होमी जातिले कुखुराको भाले, सुँगुर बलि दिएर कुल देवताको पूजा गर्ने गर्छन् । तथापि नेपालको जातीय संस्कार (खण्ड २) मा ‘ल्होमी जातिको सामाजिक संस्कार’ शीर्षक छेजाप थिकेपा ल्होमीको लेखमा ‘ल्होमी (शिङ्साव) हरूले बोन धर्म मान्ने गर्दछ’ भनेका छन् ।
उनले बौद्ध धर्मको प्रभाव बोन धर्ममा पर्दै जाँदा ल्होमीहरूले बौध धर्म मान्दामान्दै बलिलाई पनि निरन्तरता दिएको उल्लेख गरेका छन् । ल्होमी जातिको मुख्य पर्व ल्होसार हो । ल्होमी जातिले ज्यालो (ग्याल्पो) ल्होसार मान्छन् । फागुन महिनामा पर्ने ज्यालो ल्होसारलाई नयाँ वर्षका रूपमा समेत मान्ने गरिन्छ । ल्होमी भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ सुरुवात वा नयाँ भन्ने लाग्छ । यसबेला ल्होमी जातिको घरमा गुथुक्क (एक प्रकारको गेडागुडी) पाकेको हुन्छ ।
ल्होमी जातिले तोच्र्याक, याहेम, आइत, छिज्यु, गुव, युल्ल, डप्लो, गोम्बल्हामु, तिङ्गोर पर्व मान्ने गर्छन् । यो जातिका मानिसले खेम्बलुङा, डेमुछ्योङा देवी विशेष रूपमा मान्छन् । यिनीहरूले गोम्बल्हामु पिता र माताको पूजा पनि गर्छन् । धामी र झाँक्रीमा विश्वास राख्ने यो जाति प्रकृतिपूजक कसरी पनि हुन् भने यिनीहरूले लु (पानीदेवता), चेन (वायुदेवता), घोस्युम्ब (कुलदेवता), स्यिप्ताक (वनदेवता), चाङ्बु (नदी देवता), डोक्पा (गोठपूजा) गर्छन् ।
ल्होमी विजुवा झाँक्रीले असिना पानी तर्काउने काम गर्ने बताइन्छ । बालीनाली सप्रियोस्, अनिकाल नपरोस् भनेर चेपुवा गाउँमा चैत वैशाखको आइतबार विशेष पूजा गरिन्छ । जसलाई आइत पूजा भनिन्छ । च्याम्ताङ गाउँमा यो पूजालाई ‘युलो (डब्लो)’ र होङ्गोङ गाउँमा ‘गुवछ्योक्केन’ भन्ने गरिएको छ । गाउँघरमा नराम्रो नहोस् भनेर लामा गुरुसहित बाजागाजा बजाएर गाउँ घुमी पूजा गर्ने ‘तिङ्गोर’ संस्कृतिसमेत ल्होमी जातिमा छ । गुठीगुम्बा र हटियागाउँको प्रमुख लामाको अगुवाइमा ज्यालो ल्होसारको अवसरमा तोच्र्याक पर्व मनाइन्छ । यसबेला गुम्बाबाट मुकुन्डो नाच निकालिन्छ ।
खादुक्पको साथ
ल्होमी जातिमा कुनै संस्कार या विवाहमा जिम्मेवारी बाँडफाँट गर्ने परम्परा रहेको छ । ल्होमीका हरेक परिवारका एक जना छिमेकी ‘खादुक्प’ हुन्छ । जसले असल मित्रका रूपमा घरभित्रकै परिवार जसरी सामाजिक संस्कारका काममा भूमिका खेल्छ । यस्ता संस्कारमा मुख्य जिम्मेवारी लिनेलाई आयबाबु, परिकार पकाउनेलाई स्यामे, डाडुपन्यु चलाउनेलाई फुम वा फुयोक्म, पेय पदार्थको व्यवस्थापन गर्ने छ्याङ्मे, अन्य भइपरिआउने काम गर्नेलाई लेमे र संस्कार सम्पन्न गर्दा खट्ने सहकर्मीलाई ‘लाज्यिप्य’ भनिन्छ ।
सामाजिक संस्कार
परिवारका कुनै सदस्यले प्राकृतिक देवदेवतालाई असर पार्ने गरी जानअन्जानमा केही गरेको भएमा त्यसको असर गर्भवती महिला र गर्भमा पर्न सक्छ भनेर गर्भावस्थामा नै ‘ला’ र ‘छि’ संस्कार गरिन्छ । यो संस्कार लामा वा लावेनद्वारा गराइन्छ । ‘ला’ भन्नाले भूतप्रेत वा आकस्मिक घटनाले मानिसको सातो गएको मानिन्छ । त्यस्तो अवस्थामा कुनै गडबडी नहोस् भन्नाका लागि ‘ला’ को पूजा गरिन्छ । यस्तो पूजा लाबेनले कुखुरा, बाख्रा काटेर गर्छन् । ‘छि’ भन्नाले मान्छेको आयु हो । ‘छि’ पूजाले मान्छेको आयु बढाउने विश्वास यो जातिमा रहेको छ ।
ल्होमी जातिमा लामा बोलाएर तीन दिनमा न्वारान गर्ने प्रचलन छ । न्वारानमा शिशुको नाम राख्ने कार्य लामाबाटै गराइन्छ । शिशु जन्मिएको बार र वंशजको कुनै पुर्खाको नाम मिलाएर नयाँ नाम जुराइन्छ । सुत्केरीलाई कुखुरा काटेर सुप खुवाउने चलन यो जातिमा छ । शिशुको जीवनमा कुनै उतारचढाव नआवस् भनेर ‘धिरिम पूजा’ गरिन्छ । यो पूजा प्रायः लोबेनद्वारा सम्पन्न गरिन्छ । यस पूजाका लागि पोथी कुखुरा र दुई वटा अन्डा चाहिन्छ ।
शिशुलाई कतै खोलानाला तार्दा, पहाडको भन्ज्याङ कटाएर लैजानु पर्दा भूतप्रेत नलागोस् भनेर चुलोको टीका लगाइदिने चलन छ । शिशुलाई लामाले मन्त्र जपेर बुटी लगाइदिने गर्छन् ।
नाचगानमा मस्ती
लोकगायन परम्परामा ल्होमी जाति समृद्ध छन् । सामाजिक संस्कार या पर्वमा गाउन र नाच्न खुवै रमाउँछन् । ल्होमीहरू चाडपर्व, विवाह, भोजभतेरमा साथीहरू भेला भएर गीत गाउँदै नाच्न मन पराउँछन् ।
वर्षको दुई पटक नाचगानकै लागि भनेर विशेष समय छुट्याउने गरिन्छ । एउटै उमेर समूहका भेला भएर खाँदै नाच्ने पनि गर्छन् । जसलाई उनीहरू ‘दिच्याङ’ भन्छन् । यस्तो बेला दिन रातको कुरै हुन्न । गाउँदै नाचेर रात कटाउँछन् ।
ल्होमी जातिमा समय र अवस्था अनुसार गाउने बेग्लाबेग्लै गीत छन् । खुसीको बेला गल्लु गाउँछन् । दुःखको बेला च्योल्लु गीत गाउछन् । बसेर गाउने गीतलाई ढेलु, उठेर नाच्दै गाउने गीतलाई स्यप्रेलु, डाँडा पाखा, चौतारी या अग्लो ठाउँमा बसेर गाइने गीतलाई रिलु भनिन्छ । ल्होमी जातिमा पनि दोहोरी गायन परम्परा छ । दोहोरी खेल्दा गाउने गीतलाई छिक वा छिक्च्याक भनिन्छ । एक अर्काको जोडी हेर्न गाउँदा गाइने गीतलाई दुलु, कार्यक्रम सकेर अन्तिममा मात्र गाइने गीतलाई टेस्यिदिक्लु, विवाहमा बेहुली भित्र्याउने बेलामा गाइने गीतलाई ङिमटेस्यी र बेहुली भित्र्याएपछि पुरुषले मात्र गाउने गीतलाई होरेस भनिन्छ । विवाहमा गाउँले जम्मा भई भोज खाएर स्याप्र नाचेर रमाइलो गर्ने परम्परा ल्होमी जातिमा छ ।
मन परे तानेर विवाह
ल्होमी जातिमा मागी विवाह, प्रेमविवाह, विधवा विवाह र जबरजस्ती विवाहको परम्परा रहेको छ । मागी विवाहमा मन परेकी कन्या माग्न जाँदा रक्सी या तोङ्वालाई खादाले बाँधी लिएर जाने परम्परा छ । यो जातिमा कन्या दिने या नदिने निर्णय गर्ने अधिकार बाबुजत्तिकै काका या ठुलाबालाई पनि हुन्छ ।
कन्या दिन आलटाल गरी समय लम्ब्याएमा मौका कुरी तानेरै लैजाने चलन पनि छ । यो जातिका ज्वाइँले ससुराली गएर हलो जोत्नेदेखि घरबाहिरका अप्ठ्यारा काममा सघाउने गर्छन् । यो जातिमा मन परेको केटाकेटीले आफूखुसी विवाह गर्ने परम्परा छ । ल्होमी जातिमा दाजुको मृत्युपछि भाउजू स्याहार्ने परम्परा पनि रहेको छ तर यसमा भाउजूको मञ्जुरी हुनु पर्छ । यो चलन विस्तारै हराउँदै गएको पाइन्छ । ल्होमी जातिमा श्रीमान् मन नपरे अर्को विवाह गर्ने चलन पनि छ । यसरी श्रीमतीले अर्कोसँग बिहे गरी गएमा पहिलो श्रीमान्सँग दुई वटा बाटो हुन्छ । पहिलो त जारी चप्केन (काट्ने) र दोस्रो जारी जप्केन (तिराउने) । यसरी कि काट्ने कि विवाहको खर्च हिसाब गरी जारी तिराउने गरिन्छ । यसरी जारी तिरिसकेपछि केटीले फेरि विधिपूर्वक विवाह गर्छिन् ।
ल्होमी जातिमा थाक च्योक्केन (अन्तिम विवाह) गर्ने परम्परा पनि छ । यो विवाह कसै कसैले निकै बुढो भएपछि मात्र पनि गर्छन् । यो विवाहमा माइती पक्षबाट कोसेली उपहार दिइन्छ । त्यो केके दिइएको छ सबै लेखेर राख्ने चलन यो समुदायमा छ ।