• २२ वैशाख २०८३, मङ्गलबार

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

blog

काठमाडौँ, वैशाख २२ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । 

महाशाखाकाअनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापी क्षेत्रको प्रभाव रहेको छ ।

आज (मङ्गलबार) राति कोशी र मधेस प्रदेशको केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा बाँकी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसैगरी, बिहीबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना छ ।