शेरबहादुर सार्की
बाजुरा, वैशाख २२ गते । बाजुराको हिमाली गाउँपालिका–६, पाडीका मौरीका मुडेघार अनुदानको पर्खाइमा रहेको छ । पाडीका किसानले परम्परागत रूपमा बनाएका ती मौरीका मुडेघार अहिले रूप फेर्ने पर्खाइमा रहेका छन् । आधुनिक घारमा मौरी बस्न सहज हुने भएकाले यतिबेला यहाँका किसान परम्परागत मुडेघार बदल्ने तयारीमा रहेका छन् ।
लामो समयदेखि मौरी पालन गर्दैआएका यहाँका किसानले परम्परागत रूपमा मौरी पाल्ने गरेको भए पनि यतिबेला उनीहरू आधुनिक तरिकाले मौरी पाल्ने योजनामा रहेका छन् ।
हिमाली गाउँपालिका–६, पाँडीका नरजीत रावलले, मैले अहिले पुरानौ मुडेघारमा मौरी पालेको छु । त्यसलाई अहिले आधुनिक रूपमा पाल्ने योजना छ । अहिलेसम्म कतैदेखि अनुदानको व्यवस्था नपाएपछि ढिलाइ भएको बताउनुभयो ।
उहाँले भन्नभुयो, “म मौरी पालन गर्दै आएको झण्डै साठी वर्ष भयो । मैले अहिले झण्डै १५० मौरीको मुडेघार राखेको छु । त्यो घरा मौरीका लागि खासै राम्रो छैन् । त्यसलाई अहिले आधुनिक घारको रूपमा बदल्ने भनेको तर आफूसँग त्यत्रो पैसा छैन् ।”
आफूसँग पैसा कम भएकाले लामो समयदेखि यति मौरीका मुडेघार पर्खाइमा रहेका हुन् । तर मौरी राम्रोसँग पालन गर्ने सोच भए पनि आधुनिक खालको राम्रो मौरीको घार नहुँदा पालन गर्नमा समस्या भएको रावलले बताउनुभयो ।
मौरीपालन पाडीको स्थानीयको एक व्यवसाय नै हो । यहाँको मह निकै आर्गानिक हुने गरेकाले देशका विभिन्न ठाउँदेखि पहिला नै महको माग हुने गर्थ्याे । यहाँका स्थानीयले महपछि र पैसा पहिला हातमा पाउने गरेका थिए ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराज साहनीले एक जनाका लागि अनुदानको व्यवस्था छैन । त्यसका लागि सामूहिक रूपमा पैसा दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मौरीपालन गर्ने योजना गरेका किसानलाई मात्र दुई चार लाख रुपियाँ सहयोग गर्ने गरेका छौं ।”
सामूहिक रूपमा बसैले मौरी पाल्ने योजना बनाएर आफिस आयो भने त्यसलाई हामी सहज रूपमा घार अनुदान दिने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनीले बताउनुभयो ।