अविनाश चौधरी
धनगढी, वैशाख २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कोटेसनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
प्रदेश सभा सदस्यसँग आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा आज आयोजित छलफल कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो। त्यस्तो कार्य गर्ने कर्मचारीलाई सरकारले कारबाही गर्ने मुख्यमन्त्रीको भनाइ थियो।
मुख्यमन्त्री शाहले २५ लाख रुपियाँभन्दा कम लागतका योजनामा सरकारले बजेट विनियोजन नगर्ने बताउनुभयो। प्रदेशका कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नहुने पनि उहाँको भनाइ थियो।
मुख्यमन्त्री शाहले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले बजेट निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलको सहभागिता सुनिश्चित गर्दै बजेट सुझाव समिति गठन गर्नुपर्ने उल्लेख गर्नुभयो।
मुख्यमन्त्री शाहले ऐतिहासिक महत्त्व बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताउनुभयो। उहाँले सोही अनुसार योजना तर्जुमा गर्न उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टलाई निर्देशन दिनुभएको छ।