केशवराज भट्ट
वासुलिङ बैतडी, वैशाख २३ गते । बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ ।
जिल्लाका विभिन्न स्थानमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएपछि डिभिजन वन कार्यालय बैतडीले सम्बन्धित व्यक्ति, संस्था र निकायलाई १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार जिल्लाभर वन क्षेत्र अतिक्रमण गरी विभिन्न व्यक्ति, संस्था तथा निकायहरूले अनधिकृत संरचना निर्माण गरेका छन् ।
कार्यालय प्रमुख भक्तराज गिरीका अनुसार ढोल्यामोड, गिरिजाबगर, जमिटाँड, रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्या खोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढीचौर, डडिया र खोचलेक लगायत क्षेत्रमा वन जमिनमाथि संरचना निर्माण गरिएका छन् ।
राष्ट्रिय वन मात्र नभई सामुदायिक वन क्षेत्र समेत अतिक्रमणको चपेटामा परेको पाइएको छ । गिवाखोला र भूमिराज सुनुवागढी लगायतका सामुदायिक वनहरूको क्षेत्र पनि अतिक्रमणमा रहेकाले ती क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको गिरीले बताउनुभयो ।
अतिक्रमित क्षेत्रमा विभिन्न व्यक्ति तथा निकायहरूले घर टहरा, पक्की घर निर्माण गरेका र खेतीपाती गर्दै आएका छन् ।
वन ऐन २०७६ को दफा ४९ (ग)ले वन क्षेत्र अतिक्रमण स्पष्टताः निषेध गरेको छ । सोही व्यवस्था अनुसार तोकिएको म्यादभित्र अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।
अतिक्रमित वन क्षेत्र खाली गराउने अभियानमा स्थानीय सरकारहरूलाई समेत सक्रिय सहयोगका लागि आग्रह गरिएको गिरीले थप जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन स्थानीय तहलाई कार्ययोजना तयार गर्न आग्रह गरेको थियो ।