• २३ वैशाख २०८३, बुधबार

पाँच दिनपछि अवरुद्ध विद्युत आपूर्ति सुचारु

blog

हेटौँडाबाट वालिङमा ल्याएको पावर ट्रान्सफर्मर । तस्बिर : राधाकृष्ष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे 

वालिङ (स्याङ्जा), वैशाख २३ गते । स्याङ्जाका अवरुद्ध विद्युत पाँच दिन पछि सुचारु भएको छ । शनिबार रातिबाट अवरुद्ध भएको विद्युत् हेटौँडाबाट ट्रान्सफर्मर ल्याएसँगै बुधबार दिउँसोबाट सुचारु भएको हो ।

बुटवल पावर कम्पनी (विपिसी)को अनुरोध बमोजिम नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराए पछि विद्युत् नियमित भएको आँधी खोला जलविद्युत् केन्द्रका प्रमुख डोलप्रसाद खरेलले जानकारी दिनुभयो ।

प्राविधिकसहितको टोलीले मङ्गलबार दिनभर ट्रान्सफर्मरको परीक्षण गरेका थिए । विपिसीले वालिङ,मर्दी स्थित सब स्टेसनमा रहेको ट्रान्सफर्मरमा शनिबार राति अचानक समस्या आएको थियो ।

जसको कारण १३ हजार उपभोक्ता प्रभावित भएको विपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो।

बिग्रिएको ट्रान्सफरमर मर्मत गर्न झण्डै २५ दिन लाग्ने भएपछि विकल्पका लागि विद्युत् प्राधिकरणसँग सहयोग मागिएको श्रेष्ठले बताउनुभयो ।

बुटवल पावर कम्पनी (विपिसी)बाट सेवा लिइरहेका जिल्लाका वालिङ, भीरकोट र गल्याङका नागरिक विद्युत अवरुद्ध हुँदा मारमा परेका हुन् ।

विद्युत अवरुद्धको असर पुरै जिल्लामा परेको थियो । विद्युत् सुचारु भएसँगै वालिङ, भीरकोट तथा गल्याङ क्षेत्रमा सरकारी तथा बैँक वित्तिय संस्थाले आफ्नो सेवा पनि दिन सुरु गरेका छन् । 

वालिङमा रहेका इलाका प्रशासन कार्यालय, मालपोत तथा नापी कार्यालयले सूचना नै निकालेर सेवा अवरुद्ध भएको जनाएका थिए यस्तै खानेपानी, टेलिफोन लगायतका सेवाहरू प्रभावित भएका थिए ।