देवराम यादव
सप्तरी, वैशाख २३ गते । सप्तरीमा विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलबार एक प्रेस विज्ञप्तिमार्फत विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जनाएको हो ।
ज्यान मार्ने उद्योग, लागु औषध, लुटपिट, सवारी ज्यान, अभद्र व्यवहार लगायतका मुद्दाका १० जना प्रतिवादीलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुटपिट मुद्दाका प्रतिवादी सप्तरी खडक नगरपालिका–५ का राजोदेवी कुमारी मण्डल, कारीदेवी मण्डल, रामदुलार मण्डल, रिताकुमारी मण्डल, दिपेशकुमार मण्डल, सेवरीदेवी मण्डल र रञ्जनाकुमारी मण्डल पक्राउ परेका छन् । उहाँहरूलाई प्रतिव्यक्ति १९६ रुपियाँ जरिवाना तोकिएको छ । यसैगरी लागु औषध मुद्दामा दुई दिन कैद सजाय तोकिएका राजविराज–७ का धीरेन्द्रकुमार साह पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूलाई कैद तथा जरिवाना भुक्तानका लागि सोमबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।
यसैगरी सवारी अङ्गभङ्ग मुद्दामा तिरहुत गाउँपालिका–५ का २० वर्षीय शिवशङ्कर यादव, ज्यान मार्ने उद्योग मुद्दामा सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय काशिन्द्र साह र अभद्र व्यवहार मुद्दाका प्रतिवादी चितवन राप्ती नगरपालिका–९ बस्ने ३० वर्षीय रामबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीविरुद्ध जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता पुरीले बताउनुभयो ।