नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २३ गते । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ ।
वैशाख २६ गते हुने प्रतियोगिताको ट्रफी र मेडल जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेस्ट म्याराथन ह्याट्रिक विजेता धावक हरिबहादुर रोकायाले सार्वजनिक गर्नुभयो ।
कर्णाली खेलकुद क्लब जुम्लाका अनुसार ५१ किमी दौड प्रतियोगितामा नेपालसहित भारत, इटाली र फ्रान्सका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौडसमेत हुने छ । पाँच किमीमा ६ सय विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।
५१ किलोमिटरतर्फ प्रथम हुनेलाई एक लाख रुपियाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । यस्तै चौथो र पाँचौँलाई जनही २० हजार रुपियाँ दिइने छ ।
५१ किलोमिटर विधामा प्रथम र दोस्रो हुने महिला खेलाडीलाई अमृता कठायत (बस्नेत)का छोराछोरीले आमाको सम्झानमा थप २५र२५ हजार रुपियाँ प्रदान गर्ने बताइएको छ ।
यस्तै १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १०, सात र पाँच हजार रुपियाँ तथा पाँच किमीका शीर्ष तीनलाई क्रमश: पाँच, तीन र दुई हजार रुपियाँ प्रदान गरिने छ ।
कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा साहसिक खेल पर्यटन प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । जुम्लादेखि रारा तालसम्मको दौड पूरा गर्ने खेलाडीको सम्मानमा सहभागी सङ्ख्या बराबर वृक्षारोपण गर्ने योजनासमेत रहेको छ ।