• २३ वैशाख २०८३, बुधबार

दक्षिण कोरिया : सजाय बढाउने न्यायाधीश मृत फेला

blog

सियोल, वैशाख २३ गते । पूर्व प्रथम महिला सम्बन्धी उच्च-प्रोफाइल मुद्दामा जेल सजाय दोब्बरभन्दा बढी गर्ने निर्णय गरेका दक्षिण कोरियाली न्यायाधीश मृत अवस्थामा फेला परेका छन् । घटनाले न्यायिक वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ ।

प्रहरीका अनुसार सिन जोङ-ओ सियोल उच्च अदालत भवनभित्र मङ्गलबार राति करिब १:०० बजे (१६०० जिएमटी) बेहोस अवस्थामा फेला पर्नुभएको थियो । सेओचो जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीले उहाँलाई तुरुन्त अस्पताल लगिएको र त्यहाँ मृत घोषित गरिएको जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा कुनै पनि बाह्य हस्तक्षेप वा आपराधिक गतिविधिको सङ्केत नदेखिएको प्रहरीले जनाएको छ ।

यद्यपि केही स्थानीय मिडियाले न्यायाधीशले आत्महत्याको नोट छोडेको दाबी गरे पनि अनुसन्धान अधिकारीले भने त्यस्तो कुनै नोट फेला नपरेको स्पष्ट पारेका छन् । घटनाको विस्तृत कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । सिन जोङ-ओले गत महिनामात्रै ५३ वर्षीया किम केओन ही को पुनरावेदन मुद्दाको अध्यक्षता गर्नुभएको थियो । सो मुद्दामा उहाँले किमलाई स्टक हेरफेर र घुस खोरीको दोषी ठहर गर्दै उहाँको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पुर्‍याउने फैसला सुनाउनुभएको थियो ।

उक्त फैसला तल्लो अदालतले उहाँलाई पहिले दिएको रिहाइ निर्णय उल्ट्याउने ऐतिहासिक निर्णय मानिएको थियो । त्यस क्रममा न्यायाधीश सिनले किमले आफ्नो दोष स्वीकार गर्नुको सट्टा निरन्तर बहानाबाजी गरेको टिप्पणी पनि गर्नुभएको थियो । प्रहरी अधिकारीले बुधबार जानकारी दिँदै न्यायाधीशको परिवार गहिरो शोकमा रहेको र उनीहरूले गोपनीयता कायम राख्न अनुरोध गरेको बताएका छन् । घटनाले दक्षिण कोरियाली न्याय प्रणाली र हालैका संवेदनशील मुद्दाबारे पुनः प्रश्न उठाएको छ । रासस/एएफपी