काठमाडौँ, वैशाख २३ गते । वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराईले गोरखापत्र संस्थानमा विभिन्न पदमा रहेर ४१ वर्ष सेवा गर्नुभएको छ। उहाँसँग पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको अवधिमा संस्थानमा रहेर काम गरेको लामो अनुभव छ ।
गोरखापत्र दैनिककाे पूर्व निमित्त प्रधानसम्पादक आफ्नो कार्यकालको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘‘त्यतिबेलाका प्रधानसम्पादकहरू ज्यादै शक्तिशाली र ओजपूर्ण हुन्थे। उनीहरू बाहिरबाट हेर्दा नरिवलका जटाजस्तै अत्यन्तै कडा देखिए पनि व्यवहारमा भने नरिवलको भित्री गुदीजस्तै नरम हुन्थे।’’
गोरखापत्रका समाचार सामग्रीहरू सिसाका अक्षर (टाइप) बाट ‘ग्याली’ मा राखेर कम्पोज गर्नुपर्ने समयको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ— ‘‘प्रुफ निकालेर सबै तयारी भइसकेपछि कहिलेकाहीँ ग्याली भत्कियो भन्ने खबर आउँथ्यो। त्यस्तो बेला रातबिरात घरमै पुगेर कम्पोज गर्ने मानिसलाई बोलाएर ल्याई अखबार प्रकाशन गरिन्थ्यो।’’
उहाँले गोरखापत्रका तत्कालीन प्रधानसम्पादकहरू टेकबहादुर खत्री, भारदत्त कोइराला, गोकुल पोखरेल र रामचन्द्र न्यौपानेलाई आदर्श सम्पादकका रूपमा स्मरण गर्नुहुन्छ।
भट्टराईले २०३८ जेठमा प्रुफरिडरका रूपमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुभएको थियो। पछि २०४५ जेठ १८ मा उपसम्पादक पदमा पुनः सेवा प्रवेश गरी उहाँ २०७९ पुस १२ गते सेवानिवृत्त हुनुभयो।
आफ्नो सेवा अवधिमा उहाँले संस्थानको सञ्चालक समिति सदस्य, २०६३ असोज २८ देखि २०६४ जेठ २९ सम्म गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादक र मुना मासिकको सम्पादकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।
गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा उहाँले संस्थानमा बिताएका झन्डै ४१ वर्षका अनुभव र भोगाइहरूलाई भिडियोमार्फत प्रस्तुत गरिएको छ :
भिडियो : मनोजरत्न शाही