विजयकुमार साह
ढल्केबर, वैशाख २३ गते । महोत्तरीको बर्दिबास नगरपालिका–१४, का कम्प्युटर व्यवसायीले बर्दिवासका सञ्चारकर्मी ललन मण्डललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति सञ्चारसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिले भत्र्सना गरेका छन् ।
बर्दिबास नगर पत्रकार सञ्जालका पूर्वअध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) महोत्तरीका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका सदस्य तथा जनमत प्रेस सङ्घका केन्द्रीय सचिव समेत रहनुभएका पत्रकार ललन मण्डललाई सोमबार बिहान करिब १० बजे अज्ञात नम्बरबाट फोन गरी ज्यान मार्ने धम्की आएको मण्डलको भनाइ छ ।
केही दिनअघि प्रकाशित सवारी दुर्घटनासम्बन्धी समाचार हटाउन दबाब दिँदै ज्यान मार्ने धम्की आएको पत्रकार मण्डलले बताउनुभयो । समाचार एकतर्फी भएको आरोप लगाउँदै कम्प्युटर व्यवसायी कौशल महतोले भौतिक कारबाहीको चेतावनी दिएको मण्डलले जानकारी दिनुभयो ।
घटनाप्रति विभिन्न पत्रकार तथा सञ्चारसम्बद्ध सङ्घ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), नेपाल प्रेस युनियन, प्रेस जनमत सङ्घ तथा टक नेपाल टिभीलगायत संस्थाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेका छन् ।
समाचारप्रति असहमति भएमा खण्डन गर्ने वा कानुनी उपचार खोज्ने वैधानिक बाटो हुँदाहुँदै धम्की दिनु अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक सरोकारसँग सम्बन्धित विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक अधिकार तथा पेसागत दायित्व भएको जनाइएको छ ।
सम्बन्धित सङ्घसंस्थाले पत्रकार मण्डललाई धम्की दिने व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही अघि बढाउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।