अनिल पराजुली
हेटौँडा, वैशाख २३ गते । मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नेपाल सरकारको सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रम अन्तर्गत घरदैलो सेवा अवधारणा लागु गर्दै मनहरी स्थायीवासीलाई घरनजिकै सेवा प्रदान गर्ने उद्देश्यले वैशाख २५ गते शुक्रबार गाउँपालिका कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको हो।
२०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्रको आवेदन दिने मनहरी स्थायीवासी र हालसम्म राहदानीका लागि आवेदन दिएकाहरूको राहदानी वितरण गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको लामिटार ब्लकबाट शुक्रबार बिहान ९ बजेदेखि जनप्रतिनिधिका साथै मकवानपुरको प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिने छ।
सेवा वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले घरदैलो सेवाको अवधारणा ल्याएको थियो । सो अवधारणा कार्यान्वयन गर्दै राष्ट्रिय परिचयपत्र र राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै पुगी वितरण गर्न थालिएको प्रशासन कार्यालयले जनाएको छ ।
गाउँबाटै राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिने बारेको सूचना वडा कार्यालयमार्फत टोल–टोलमा पुर्याइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत आशिष मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो पटक ८८ जना मनहरीवासीले राहदानीका लागि आवेदन दिएकोमा उहाँहरू सबैको राहदानी वितरण गरिने छ । प्रत्येक व्यक्तिलाई फोनमार्फत गाउँपालिकामा राहदानी लिन आउन सूचित गरिसकिएको छ।