• २३ वैशाख २०८३, बुधबार

घोराहीमा आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय

blog

सन्तोष दहित

दाङ, वैशाख २३ गते ।घोराही उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले विद्यार्थीको पठनपाठनलाई मध्यनजर गर्दै आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस अघि सङ्घीय सरकारले आइतबार  पनि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, पालिकाले विद्यार्थीको हितमा भन्दै विद्यालय खोल्ने निर्णय गरेको हो ।

सोही अनुसार निर्णय कार्यान्वयन गर्न घोराहीका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर अर्को व्यवस्था नभएसम्मका लागि आइतबार पनि विद्यालय खोल्ने निर्णय भएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । 

उहाँले निजी विद्यालय आइतबार पनि यसअघि नै सञ्चालन भइरहेकाले सामुदायिक विद्यालयमा पनि आइतबार पढाउने अभिभावक र पढ्ने विद्यार्थीको हितमा निर्णय गरिएको पनि बताउनुभयो । 

बर्खे बिदा र आइतबारको बिदा कसरी समायोजन गर्ने भन्ने बारे निर्णय हुन बाकी रहेकाले अर्को ब्यवस्था नभएसम्म आइतबार विद्यालय खोल्ने कार्यपालिकाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकले उपमहानगरले बोलाएको बैठकमा निजी विद्यालय आइतबार सञ्चालन हुने अवस्थामा आफूले सामुदायिक विद्यालय आइतबार बन्द गर्न नसक्ने बताएका थिए । 

निजी विद्यालय आइतबार बन्द हुने अवस्थामा सामुदायिक विद्यालय पनि आइतबार बन्द गर्न सकिने प्रअले बैठकमा सुझाव दिएकाथिए ।