आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, ५८ ले सूचीकृत गरेका ५९ आदिवासी जनजाति सूचीमा अति सीमान्तकृत समूहमा राखिएको जाति हो– थुदाम । सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–२, थुदाममा बसोबास गर्ने जातिलाई थुदामका रूपमा चिनिन्छ ।
थुदाममा अहिले ३० घर जतिको बसोबास रहेको छ । जडीबुटी तथा काठको व्यापार र चौँरीपालनमा रमाउँदै आएका थुदाम जातिको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तिब्बततिर छ । चीनको स्वशासित क्षेत्र तिब्बतको रेउ क्षेत्रसँग थुदामवासीको बिहाबारी सम्बन्ध रहँदै आएको छ । सो क्षेत्रमा माक्पा (घरज्वाइँ) बस्न जाने पुरानो परम्परा रहेको छ ।
त्यसरी छोरा नभएको परिवारमा माक्पा बस्न जाने युवाले नेपाली कागजपत्र त्यागी उतैको कागजपत्र बनाएर छोरा सरह आर्थिक र सामाजिक अधिकार लिई बस्ने गरेको थुदाम सेवा समाजका अध्यक्ष वाङजा ल्होमी जानकारी दिन्छन् ।
तिब्बतमा ज्वाइँका रूपमा स्थायी बसोबासका लागि पनि जाने पुरानो चलन थियो । तथापि अहिले यो चलन त्यति पाइन्न । सीमा क्षेत्रमा कडाइ र कोभिडपछि तिब्बतको रेउ क्षेत्रमा बिहाबारी निकै कम भएको छ । पहिला नै ज्वाइँ बस्न गएकाहरूका कारणले थुदामको आधा जनसङ्ख्या रेउ क्षेत्रतिरै रहेको छ ।
प्रतिष्ठान ऐनमा सूचीकृत हिमाली आदिवासी जनजातिमा छैरोतन, डोल्पो, ताङवे, तोप्केगोला, थुदाम, थकाली, तीनगाउँले थकाली, बाह्रगाउँले, मार्फाली थकाली, वालुङ, ब्याँसी, भोटे, मुगाली, लार्के (चुम्बा/नुब्री, ल्होपा, ल्होमी, शेर्पा र सियार गरी १८ जाति रहेका छन् । कतिपय जातिका नाम स्थान विशेषबाट बनेका छन् । जस्तै डोल्पो, तोप्केगोला, थकाली, तीन गाउँले थकाली, बाह्रगाउँले, मार्फाली थकाली, ब्याँसी, भोटे, मुगाली ।
सङ्खुवासभाको भोटखोला क्षेत्रको थुदाममा शताब्दीयौँदेखि बसोबास गर्दै आएको जातिलाई समेत स्थान विशेषबाट थुदाम जातिका रूपमा चिनिन्छ ।
हिमाली क्षेत्रमा बसोबास गर्ने १८ जातिमध्ये सात जातिलाई २०७८ को राष्ट्रिय जनगणनामा पनि समावेश गरिएको देखिएन । यसरी जनगणनामा समावेश नगरिएका हिमाली जातिमा छैरोतन, ताङवे, थुदाम, तीनगाउँले थकाली, बाह्रगाउँले, मार्फाली थकाली र सियार हुन् ।
थुदाम एक हिमाली आदिवासी जनजाति हो । सरकारी कागजपत्रमा भोटे थर लेख्ने यो समुदाय जनगणनामा उल्लेख छैन । अति अल्पसङ्ख्यक मानिने यो जातिको जनसङ्ख्या एक अध्ययन अनुसार २५० मात्र रहेको छ (पाण्डेय २०६०:४५) ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित (२०८२) नेपालका आदिवासी जनजाति ज्ञानकोश भाग–१ मा उल्लेख गरिए अनुसार यो जातिको भाषामा छिमेकी जातिहरू शेर्पा, तोप्केगोला, वालुङ आदिको भाषा मिश्रण पाइन्छ ।
थुदामको मङ्गोल नस्ल र तिब्बती उत्पत्तिले के बोध गर्छ भने यो जाति बौद्ध धर्मावलम्बी हो तथा यिनीहरूको संस्कृति र संस्कारमा प्रकृतिपूजा, बोनपन र झाँक्रीपन्थ मिसिएको हुने ज्ञानकोशमा उल्लेख छ ।
सो पुस्तकमा भनिएको छ, “खासमा थुदामको पेसा कृषि हो । यिनीहरू ल्होमी र वालुङ जातिको मोहीका रूपमा खेती गर्छन् । पशुपालन कृषिसँगै जोडिएको पेसा हो । सीमापार व्यापारमा पहिलेदेखि नै लागेका छन् । तिब्बतमा कृषि उत्पादनको व्यापार गर्ने गर्छन् ।”
हिमाली आदिवासी समाज नेपालले ढोक्प्या/थुदाम/पावाखोला भाषा लेखनशैली प्रस्तावित परीक्षण संस्करण (२०७९) मा प्रकाशन गरेको छ । समाजका अध्यक्ष साङबु ल्होमीले प्रकाशकीयमा लेखेका छन्, “ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको ढोक्प्या, थुदाम, पावाखोलावासी आदिवासी समुदायले बोल्ने भाषा ढोक्प्या/थुदाम/पावाखोला (ढोथुबा) भाषा हो । समुदायभित्र यो भाषालाई हाम्रो भाषा र अरू नजिकको समुदायले भोटे भाषा भनेर यो भाषालाई भन्ने गर्छ ।”
यो भाषा संरक्षण, संवर्धन र विकासको प्रयासका लागि २०७८ साल फागुन २९ गते सरोकारवालासँग बैठक बसेको थियो । त्यसपछि २०७९ साल वैशाख ५ देखि ८ गतेसम्म हिमाली आदिवासी समाजको सहयोगमा ढोक्प्या/थुदाम/पावाखोला समुदायको सहभागितामा यस भाषाको वर्ण निर्धारण कार्यशाला सञ्चालन गरी देवनागरी लिपिमा यस भाषाको वर्ण निर्धारण गरिएको थियो ।
ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–४ र ५ को सिम्बुक, पापुङ, तार्तोङ, दोङ्गेन, लाम्साङ, किलिङ, टासीजोम (मिक्लादेन), ताङ्खु, तिङजोङ्मा (तिल्जुङ), साँबा, दलैचा र थलङ गाउँ र सङ्खुवासभाको मकालु गाउँपालिका–४, पावाखोला तथा भोटखोला गाउँपालिका–२, थुदाम गाउँमा ढोक्प्या/थुदाम/पावाखोला भाषा बोल्ने गरिन्छ ।
राष्ट्रिय जनगणना, २०६८ को प्रतिवेदन अनुसार नेपालमा यो भाषा बोल्ने वक्ता सङ्ख्या एक हजार ५२३ रहेको छ । चिनियाँ–तिब्बती भाषा परिवार अन्तर्गत केन्द्रीय बोडिस समूहमा यो भाषिक समूह पर्दछ । यस भाषिक समूहका मानिस ताप्लेजुङ क्षेत्रकाले आफूलाई शेर्पा र सङ्खुवासभा क्षेत्रकाले भोटे भनी लेखाउँछन् ।
मेची महाकाली भाग १, २०३१ पुस्तकमा थुदाम गाउँका बारेमा भनिएको छ, “थुदाम करिब ३,४१३ मिटर (११,२०० फिट) को उचाइमा अवस्थित एक सानो भोटे गाउँ हो । यहाँ करिब १५–२० घर छन् तर खेती प्रायः शून्य छ ।”
थुदामको मुख्य व्यवसाय पशुपालन र व्यापार रहेको तथा त्यसका अतिरिक्त जडीबुटी, कस्तुरीविना, भालुको पित्त आदि वस्तु त्यहाँबाट निर्यात गरिने कुरा पनि सो पुस्तकमा उल्लेख गरिएको छ ।
पानीघट्ट जस्तै पानीको प्रवाहले चल्ने यन्त्रबाट धुपी काठ घोटेर उनीहरूले चन्दन जस्तो लेप बनाई तिब्बत निर्यात गर्ने गरेको विषयमा समेत सो पुस्तकमा रोचक चर्चा गरिएको पाइन्छ । पुस्तकमा भनिएको छ, “चौँरीको दुधबाट बनेको छुर्पी यहाँ प्रशस्त मात्रामा पाइन्छ । यो गाउँमा धुपीको काठ घोटेर चन्दन जस्तो लेप बनाउने एउटा काठेयन्त्र छ । यो यन्त्र घट्ट जस्तै पानीको प्रवाहबाट चल्दछ । धुपीको चन्दनलाई गोला गोला बनाई तिब्बततर्फ निर्यात गरिन्छ । यो व्यापार आजकल ज्यादै घटेको छ ।”
सन् १९६७ मा प्रकाशित डोरबहादुर विष्टको पिपुल अफ नेपाल पुस्तकमा ‘थुदाम र तोपकेगोलाका मानिसहरू’ बारे चर्चा गरिएको छ । ताप्लेजुङको प्रशासनिक जिल्ला सङ्खुवासभाको ल्होमीको पूर्वमा थुदाम र तोप्केगोलाका सम्बन्धित मानिसहरू बसोबास गर्छन् भनेर समाजशास्त्री विष्टले उल्लेख गरेका छन् ।
“थुदाम र तोप्केगोला स्थाननामका गाउँ हुन् । जुन मुख्यतया दक्षिणमा चैनपुरलाई तिब्बतको सारसँग जोड्ने मार्गमा रहेको व्यापारिक केन्द्र हो” सो पुस्तकमा भनिएको छ । थुदामका मानिससँग खेती गर्न आफ्नै जग्गा नभएकाले चेमताङको ल्होमी गाउँको अरुण नदीको पूर्वमा केही कृषि जग्गा भाडामा लिएर उनीहरूले कोदो र आलु खेती गर्दै आएको सो पुस्तकमा उल्लेख गरिएको छ ।
५० वर्षअघिको थुदाम गाउँका विषयमा विष्टले पानीमिलको मद्दतबाट थुदामवासीले सुगन्धवाल धूप बनाउँछन् र सीमापार तिब्बतमा लगेर बेची वर्षको करिब दुई सय रुपियाँसम्म आम्दानी गर्छन् भनेका छन् । त्यस्ता पानी मिल थुदामवासीकै स्वामित्वमा रहेको तथा धूपवाला रुख कटान र वन विनाश रोक्न उनीहरूलाई तालिमको आवश्यकता रहेको पनि समाजशास्त्री विष्टले सचेत गराएका थिए ।
जातीय संस्कार र संस्कृति
थुदाम जातिमा छोराछोरी जन्मँदा लामा बोलाएर नाम राख्ने चलन छ । छोराछोरीको नाम प्रायः शिशु जन्मिएको बार अनुसार राख्ने गरिन्छ । शिशु जन्मिँदै मृत्यु हुने अवस्थामा त्यसपछि जन्मिएका बालबालिकाको नाम अलि नराम्रो राख्ने चलन पनि थुदाममा छ । जस्तै : योक्पु अर्थात् नोकर । शिशुको नाम यस्ता खाले राख्दा बालबालिकाको अकाल निधन नहुने विश्वास उनीहरूको छ ।
थुदाम जातिमा मागी विवाहको प्रचलन छ तर अचेल प्रेम विवाहलाई समेत स्वीकार गरिँदै आएको छ । भोटखोलाका थुदामका अग्रजले छिमेकी जिल्ला ताप्लेजुङमा विवाह गर्ने गरेका थिए । भाषा, भूगोलसमेत मिल्दोजुल्दो र विवाहको चालचलन उस्तै उस्तै भएकाले थुदामका अग्रजले त्यतै बिहाबारी चलाउने गरेको धारणा थुदाम सेवा समाजका अध्यक्ष वाङजा ल्होमीको भनाइ छ ।
थुदाममा कोही बिरामी भएको अवस्थामा सबैभन्दा पहिला लामालाई देखाउने गरिन्छ । लामाको सुझाव अनुसार नै बिरामीको थप उपचार गरिन्छ । लामाले बिरामीको उपचार गर्न नसकेको अवस्थामा मात्र थुदामले अस्पताल लैजान्छन् ।
हिमाली जातिमा थुदामले मृत्युपछि शव जलाउने गरेको पाइन्छ । थुदामबाट अलि टाढा रहेको ठाउँमा दाहसंस्कार गरिन्छ । तथापि बालकको मृत्यु भएमा गुफामा राख्ने चलन छ । मृत्यु संस्कार लामा बोलाएर गर्ने चलन छ । मृतकको शवलाई जुनसुकै बेला र बारमा निकाल्न मिल्दैन । लामाले हेरेर जुन बार ठिक हुन्छ भन्छ सोही बार शव निकाली जलाउनु पर्दछ । मृतकको सम्झनामा चौतारा बनाउने परम्परा यो जातिमा रहेको छ । मृतक परेको ३९ दिनमा ठूलो पूजा लगाउने चलन थुदाम जातिमा रहेको छ ।

छिमेकीलाई छ्याङ
थुदाम जातिका मानिसले मनाउने महìवपूर्ण चाड ग्याल्पो ल्होसार हो । यो ल्होसारका बेला घर सरसफाइ गर्ने र मैदाको पिठोले घरमा बुट्टा चित्र बनाउने गरिन्छ । ल्होसारका बेला घर घर गएर छ्याङ पु¥याउने चलन छ ।
ल्होसारमा एक दिन लाप्सो भन्ने हुन्छ । सो दिनमा सबै गाउँले आफ्नो वेशभूषामा पूजा गर्न जम्मा हुन्छन् । अनि सबैजना मिलेर एउटा सामुदायिक घरमा जम्मा भई नाचगान गर्छन् । त्यो बेला खेल पनि खेल्ने गरिन्छ । त्यसलाई डाइस अर्थात् थुदामले पारासो भनेर खेल्ने गर्छन् ।
नाचगान तीन दिनसम्म चल्ने गर्छ । उनीहरू आफ्नो वेशभूषामा सजिएर रात–दिन गीत गाएर लहरै नाच्छन् । यो बेला मिठो खानाका परिकार बनाएर खान्छन् । ल्होसारमा थुदाम जातिले विशेष गरी याकको मासु खाने गर्छन् ।
बसेर गीत, हात समातेर नाच
थुदाम जातिमा बसेर गीत गाउने प्रचलन छ । गीत थाल्दा एक जनाले सुरुमा उठाउँछ र त्यसपछि सबैले एकै स्वरमा गाउने गर्छन् । यस्तो बेला गीतको अवधि सीमित हुँदैन । रातभरि नै पनि गाउन सक्छन् । नाचगान गर्दा केटाकेटी सबैले हात समातेर नाच्ने गर्छन् ।
यसरी नाच्दा ठूलाबडाले नेतृत्व गरेका हुन्छन् । सुरुमा विस्तारै नाचिन्छ । त्यसपछि विस्तारै छिटोछिटो नाच्ने गरिन्छ । घर नयाँ बनाउँदा पनि गीत गाएर रमाइलो गर्ने चलन छ । आफन्तहरू भेला भएको बेलामा पनि खुसियाली या दुःखसुखका गीत गाएर रमाइलो गर्ने चलन थुदाम जातिमा छ । विवाहका बेला पनि परम्परागत रूपमा छुट्टै गीत गाउने चलन यो जातिमा छ ।