• २३ वैशाख २०८३, बुधबार

११ दिनपछि व्यासमा फोहोर उठ्न थाल्यो

blog

सवारी साधनमा राखेर सरसफाइ व्यवस्थापन गरिँदै । तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २३ गते । तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्कलन पुनः सुरु भएको छ ।

फोहोर बिसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प पारेको व्यास नगरपालिकाले बुधबार देखि बजार क्षेत्रको फोहोर उठाउन थालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार अहिलेका लागि पहिलाकै स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको छ ।“तत्काल समस्या समाधानका लागि अस्थायी ठाउँ प्रयोग गरिएको हो, यो दिगो समाधान भने होइन,” उहाँले भन्नुभयो ।

अस्थायी स्थान पनि चाँडै भरिन सक्ने भएकाले अर्को ठाउँको खोजी कार्यसमेत जारी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले हालसम्म आफ्नो स्थायी फोहोरमैला व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गर्न सकेको छैन ।

यसअघि वडा नं.१ गल्वुबेँसीस्थित अकला कमलडिहीमा व्यक्तिको जग्गा भाडामा लिएर अस्थायी रूपमा फोहोर बिसर्जन गरिँदै आएको थियो । उक्त स्थानमा खनिएका खाडलहरू फोहोरले भरिएपछि थप बिसर्जन गर्न प्राविधिक समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार जग्गा प्राप्तिको प्रक्रियामा सामाजिक र कानुनी जटिलता देखिएका छन्।

“व्यक्तिले जग्गा बिक्री गर्न चाहे पनि स्थानीय समुदायले विरोध गर्ने गरेका कारण समस्या परेको छ,” उहाँले भन्नुभयो ।

जग्गा प्राप्तिका लागि नगरपालिकाले एक साताको सार्वजनिक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेपछि विकल्पको खोजीमा थप कठिनाइ भएको उहाँले बताउनुभयो ।

वैकल्पिक स्थानको पहिचान र व्यवस्थापनका लागि प्रयास जारी रहे पनि ठोस उपलब्धि नहुँदासम्म फोहोर व्यवस्थापन प्रभावित हुने उहाँको भनाइ छ ।

लम्सालका अनुसार दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिद गर्न नेपाल सरकारसँग अनुमति माग गरिएको भए पनि हालसम्म स्वीकृति प्राप्त हुन सकेको छैन ।

नगरपालिकाले दैनिक सरसफाइका लागि तीन टिप्पर, चार ट्र्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ सवारी साधन परिचालन गर्दै आएको छ । तर बिसर्जन स्थल नहुँदा ती सवारी साधन थन्किनुपर्ने अवस्था आएको थियो ।

व्यास नगरपालिका स्थापना भएको ३४ वर्ष बितिसक्दा पनि स्थायी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसक्नु यहाँको मुख्य चुनौती बनेको छ ।

स्थापनाकालदेखि नै हरेक निर्वाचनमा यो मुद्दा उठ्ने गरे पनि हालसम्म ठोस समाधान निस्कन सकेको छैन । नगरपालिकाले भने उपयुक्त जग्गा प्राप्ति र सङ्घीय सरकारको सहमतिका लागि पहल जारी रहेको जनाएको छ ।