छविलाल पाण्डेय
बुटवल, वैशाख २३ गते । बुटवलको गोलपार्कदेखि छोटो दूरीमा सञ्चालन हुने माइक्रो बसलाई व्यवस्थित गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका-३, गोलपार्कमा माइक्रो बसपार्क उदघाटन भएको छ ।
बुटवल उपमहानगरपालिका-३, गोलपार्कमा सडकभरि जथाभाबी पार्किङ गरी राखिने माइक्रो बसका कारण दुर्घटनाको जोखिम बढेको तथा फोहाेर समेत बढेपछि बुटवल उपमहानगरको पहलमा माइक्रो बसपार्क निर्माण गरिएको हो ।
बुधबार बिहान एक कार्यक्रमबिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गोलपार्क माइक्रो बसपार्कको उदघाटन गर्दै सडकभरी लथालिङ्ग रूपमा राखिएका माइक्रोबस अब बसपार्क सञ्चालनमा आएपछि गोलपार्कलाई व्यवस्थित बनाउन सहयोग पुगेको बताउनुभयो ।
उहाँले कुल ५८ लाख रुपियाँ लगानी गरी भिरालो जमिनलाई खारेर शौचालयसहितको राम्रो बसपार्क निर्माण गरिएको बताउँदै यसबाट बुटवल सहर सुन्दरीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यसअघि सडक किनारमा माइक्रोबस राख्दा दुर्घटनाको जोखिम बढेकोमा माइक्रो बसपार्क निर्माण भएपछि दुर्घटनाको जोखिम कम हुने र यात्रुलाई विभिन्न गन्तव्य मा पुग्न सजिलो हुने बताउनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नंं. ३ का वडाध्यक्ष विष्णु ढकालले बुटवलदेखि छोटो रुटका माइक्रो बस यो बसपार्कबाट सञ्चालन हुने बताउँदै बसपार्क निर्माण भएपछि यसअघि जथाभाबी गरिने पार्किङको समस्या समाधान भई सहरको सुन्दरता समेत थपिएको बताउनुभयो ।
उहाँले माइक्रो बसपार्क सानो भएकोले नम्बर लागेको बेलामात्रै माइक्रो बस ल्याउने र नम्बर लगाएर जाने व्यवस्था मिलाउन उक्त रुटमा चल्ने बस सञ्चालकहरूसँग आग्रह गर्नुभयो ।
यसअघि गोलपार्कदेखि भैरहवा, मङ्गलापुर, सालझण्डी, बर्दघाट लगायतका विभिन्न सानो रुटमा सञ्चालन हुने माइक्रो बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमै नम्बर लगाउन राख्ने गरिएको थियो ।
यसैगरी, बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कको टिकट काउन्टरलाई व्यवस्थित बनाउँदै अब बस टर्मिनल भवनबाट सेवा सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको पहलमा मङ्गलबारदेखि टर्मिनल भवनबाट टिकट काउन्टर सेवा सुरु भएको हो ।
बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले अवको एक साताभित्रै सबै टिकट काउन्टर यहीबाट सेवा सुरु हुने बताउनुभयो । नयाँ बसपार्कभित्र लाइटिङ, पङ्खा, चिसो तातो पानीको व्यवस्था गरिएकोले यात्रुलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल बस टर्मिनलभित्र याुत्रलाई बस्नका लागि प्रतिक्षालय समेत निर्माण गरिने भएको छ । उक्त बसपार्कभित्र बुटवल उपमहानगरले गत वर्षदेखि स्नानगृहसहितको शौचालयको व्यवस्था गरेको छ ।