• २३ वैशाख २०८३, बुधबार

१४८ केजी गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

blog

जयकृष्ण यादव 

इनरुवा, वैशाख २३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, पुलठ्ठे गैडाबाट एक सय ४८ केजी गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारतको विहार सुपोल जिल्ला स्थित वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समा सवार २१ वर्षीय मोहमद सदाम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वराहक्षेत्र चतराबाट खटिएको गस्ती टोलीले चतराबाट तेह्रआर्डी तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०७ पिसी ४७६५ को एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा एक सय ४८ केजी गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीको टोलीलाई देख्न साथ भाग्न खोजेपछि घेरा हालेर नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएको सवारी साधन भित्र हेरेपछि प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा १४८ किलोग्राम गाँजा बरामद भएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिनुभयो । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।