• ७ माघ २०८२, बुधबार

बदलिँदै वनकरिया

blog

खेती किसानीको खासै अनुभव नभएका जङ्गलमा कन्दमूल खोज्ने तथा जडीबुटी, कुरिलो सङ्कलन गरी बजार या गाउँमा बेची अन्न जम्मा गरेर जीविका गर्दै आएको जाति हो– वनकरिया । 

जङ्गली उत्पादनमा पूर्णतः निर्भर यो जाति कृषिकर्मसँग लामो समय परै बस्यो । जङ्गलमा बस्ने र अन्य समुदायसँगको सम्पर्कबाट टाढै रहँदै आएको यो जातिका मानिस नयाँ मानिससँग हत्तपत्त बोलिहाल्न चाहँदैनन् । 

राष्ट्रिय जनगणनामा समेत बेवास्ता गरिँदै आएको वनकरिया जातिका बारेमा २०७८ सालदेखि मात्र तथ्याङ्क लिइन थालियो । तथापि यो जातिका बारेमा खोजी हुनुपर्ने आवाज चाहिँ पहिलादेखि नै उठाइँदै आएको थियो ।

समाजशास्त्री डा.कृष्ण भट्टचनले वनकरिया जातिका बारेमा खोज र अनुसन्धान गरेका छन् । त्यस्तै डा. राजेश गौतम र अशोक थापाले ‘ट्राइबल इथ्नोग्राफी अफ नेपाल’ पुस्तकमा वनकरियाबारे चर्चा गरेको पाइन्छ । २०४६ सालपछि यो जातिका बारेमा सञ्चार माध्यममा चर्चा चल्न थालेपछि यस जातिका विषयमा जनचासो बढेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाल लघुविश्वकोश (२०६८) मा वनकरियाका सन्दर्भमा भनिएको छ, “यो वनकरिया समुदाय मकवानपुर जिल्लाको हाँडीखोला गाउँ विकास समिति र चौराबेँसीपूर्व, सुनखोला पश्चिम र चुरे पहाड उत्तरमा बसोबास गर्दछ । यिनीहरू फिरन्ता छन् र जङ्गली कन्दमूल खान रुचाउँछन् । यिनीहरूको सङ्ख्या ज्यादै कम छ । यिनको सङ्ख्या उपलब्ध छैन ।”

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बेभसाइटमा वनकरिया जातिबारे भनिएको छ, “यो जनजाति मकवानपुर जिल्लाको हाँडीखोला गाविस र चौराबेँसीपूर्व, सुनखोला पश्चिम र चुरेपहाड उत्तरमा बस्दछ । यिनीहरू चेपाङ जस्तै फिरन्ते जीवन बिताउने र जङ्गलभित्रका झुपडीमा बसोबास गरेको पाइन्छ ।”

प्रतिष्ठानले आफ्नो बेभसाइटमा अगाडि भनेको छ, “फिरन्ते जीवनको पृष्ठभूमिबाट आएको यो जाति अहिले पनि एउटै ठाउँमा स्थिर भएर बस्दैन । यिनीहरू जङ्गली कन्दमूल खाने, वन कुरिलो  जम्मा गर्ने र नजिकको गाउँबस्तीमा अन्नपातसँग साट्ने गर्दछन् । मङ्गोल वर्णका यिनीहरूको सङ्ख्या झन्डै तीन चार सय जति मात्र रहेको छ । धर्म र भाषा चेपाङ जातिसँग केही मिल्दोजुल्दो छ ।”

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातजातिलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गरी लोपोन्मुख, अति सीमान्तकृत, सीमान्तकृत, सुविधा वञ्चित र उन्नत समूहमा विभाजन गरेको छ । प्रतिष्ठानले वनकरियालाई लोपोन्मुख समूहमा राखेको छ । तीन दशकअघिसम्म घुमन्ते जीवनशैली बिताउँदै आएका वनकरियालाई नेपाल सरकारले २०६२ सालदेखि स्थायी बसोबासीका रूपमा स्थापित गरेको थियो ।

मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा २२ घरपरिवारका ९३ वनकरियालाई राखिएको थियो । कबुलियती वनको नौ हेक्टर क्षेत्रफलमा उनीहरूलाई राखियो । सो जमिन पनि अहिले पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्दछ । जसले गर्दा उनीहरूको बसोबासमाथि प्रश्न उठाउन थालिएको छ । त्यसअघि उनीहरू चुरेघाँचमा बसोबास गर्दै आएका थिए ।

सरकारले लोपोन्मुख १० जातिलाई २०६६ सालदेखि राष्ट्रको मूलधारमा ल्याउने उद्देश्यसाथ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । सोही समयदेखि वनकरियाले पनि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । राष्ट्रिय जनगणना २०६८ मा वनकरिया जातिको तथ्याङ्क लिइएको थिएन । तथापि जनगणना २०७८ मा ८३ पुरुष र ९७ महिला गरी १९० वनकरियाको जनसङ्ख्या गणना गरियो ।

वनकरिया बेग्लै जाति या चेपाङकै समुदाय हो भन्ने विवाद भने  कायमै छ । नेपाल चेपाङ (प्रजा) सङ्घले वनकरिया चेपाङ नै भएको दाबी गरेको छ । यसको निराकरणका लागि वैज्ञानिक अध्ययन अनुसन्धान आवश्यक छ ।

मकवानपुरका सञ्चारकर्मी प्रताप विष्टले वनकरिया जातिको विषयमा खोज, अनुसन्धान गरी ‘छेलिएका अनुहार’ (२०७९) पुस्तक लेखेका छन् । २०५१ वैशाख १३ गते पत्रकार विष्टसहित सञ्चारकर्मी चुरेघाँच पुग्दा उनीहरू स्याउला र थाकलले छाएका ससाना छाप्रामा बस्दै आएको पाइएको थियो । त्यसबेला उनीहरू बोल्न निकै डराएका थिए ।

विष्टले पुस्तकमा लेखेका छन्, “हेटौँडाबाट १२ किलोमिटर पश्चिममा रहेको सान्नानीटारबाट उत्तरतर्फ १० घण्टा जतिको पैदल यात्रापछि पुगिने चुरेघाँचको जङ्गलमा उनीहरू छाप्रो बनाएर बसेका थिए । उनीहरू त्यहाँ कसरी पुगे भन्ने कुराको तथ्य र प्रमाण छैन । राणा प्रधानमन्त्री जुद्धशमशेरले वनकरियाहरूले हाँडीखोलाको जङ्गल र वन्यजन्तु सखाप पारे भनेर उनीहरूलाई त्यहाँबाट हटाई चुरेको जङ्गल दोराम, कामीखोला, शीतलपुर, मगुवाको जङ्गलतिर लखेटेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।”

वनकरियाको तत्कालीन अवस्थाबारे पत्रकार विष्टले लेखेका छन्, “साबिकको हाँडीखोला गाउँ विकास समिति–७, डाँडागाउँमा उनीहरूको थाकल र स्याउलाले बनाएको छाप्रो थियो । उनीहरू त्यो छाप्रोमा वर्ष दिनमा मुस्किलले ४५ दिन पनि बस्दैनथे । सधैँ जङ्गलमा नै बस्थे । वनकरियाहरू जङ्गलबाट कुरिलो खोजेर छाप्रामा ल्याई उसिनेर त्यसकै बोक्रा ताछ्ने अनि त्यसलाई डाँडागाउँमा ल्याएर बेच्ने गर्थे । जङ्गलमा कुरिलो, खरेटो र गिट्ठा, भ्याकुर खोज्ने कामलाई वनकरियाहरू थकरीमकरी ज्यारपास बङ्ला आसमान भन्छन् ।”

रहनसहन

लामो समय फिरन्ते जीवन बिताएका सोझा जाति वनकरियाको विशेषखाले पर्व वा संस्कृति अस्तित्वमा वा प्रचलनमा छैन । प्रकृतिमा रमाउँदै आएको यो जातिको उत्पत्ति र विकासबारे गहन अध्ययन खासै हुन सकेको देखिँदैन । पहिलाका धेरै कुरा उनीहरूलाई थाहा छैन । तथापि यो जातिको भाषा, रहनसहन, जीवनशैली चेपाङसँग मिल्छ भन्ने केही अध्ययनले देखाएका छन् ।

वनकरियाको उत्पत्तिबारे एउटा मिथक पनि छ, यिनीहरूका पुर्खा लव हुन् । चेपाङका पुर्खा कुश । भगवान् राम र सीताका छोरा हुन्– लव र कुश । यस्तो मिथक चेपाङ जातिको अगुवाबाट पनि सुन्न पाइन्छ । भाषा आयोगले वनकरियाको भाषा अध्ययनलाई अघि बढाएको छ ।

वनकरिया जातिमा विवाह गर्दा पोङ खुवाउने चलन छ । यो प्रचलन अन्य जनजाति समुदायमा पनि पाइन्छ ।

वनकरिया जातिमा विशेष गरी मागी र भागी बिहे गर्ने गरिन्छ । चेपाङको जस्तो यो जातिमा बालविवाह नभएको होइन तर त्यति धेरै बालविवाह भएको पाइन्न । पत्रकार विष्टका अनुसार वनकरिया जातिमा शिशुको न्वारान नौ दिनदेखि ११ दिनमा गरिन्छ । पहिला पहिला यो जातिका मानिस मर्दा गाड्ने गरिन्थ्यो, अहिले जलाउने गरिएको छ । सायद स्थायी बसोबास थालेपछि हिन्दु समाजको प्रभाव वनकरियामा परेको हुन सक्छ । यो समुदायको पुरोहित ज्वाइँचेलालाई राख्ने चलन छ । यस जातिको एउटा, दुई वटाबाहेक आफ्नो भाषा फेला परेको छैन । उनीहरू खेती किसानी, ज्याला मजदुरी गरेर जीवन धान्दै आएका छन् ।

बदलिँदै वनकरिया

स्थायी बसोबास थालेपछि स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहयोगमा वनकरियाले सिप सिक्न थालेका छन् । स्याउला र थाकलको छाप्रो छाडेर जस्तापाताको छानोमा सरेका वनकरियाहरू खेतीपातीतिरसमेत लागेको देखिन्छ ।

गिट्ठा र भ्याकुर खोज्न छाडेर वनकरियाका बालबालिकाले विद्यालय टेकेका छन् । २०६२ सालमा नागरिकता प्राप्त गरेका वनकरिया जातिमा घरका हरेक निर्णय र नेतृत्व महिलामा निहित देखिन्छ ।

बजार जाने र किनमेल तथा वस्तु विनिमयको काम महिलाले नै गर्दै आएको पाइन्छ । त्यसैले उनीहरू वनकरिया पुरुषभन्दा केही टाठाबाठा जस्तो समेत देखिन्छन् । वनकरिया जातिका पम्फा ल्याब टेक्निसियन र सन्तोषी जेटिए भएकी छन् । सम्भवतः वनकरिया जातिमा सबैभन्दा पहिला एसइई गर्ने यिनै दुई महिला हुन् ।

वनकरिया जाति सामाजिक, आर्थिक विकासमा विस्तारै अघि बढ्दै गरेको छ । राज्यले उनीहरूलाई लोपोन्मुख सूचीमा राखी सामाजिक सुरक्षा भत्ता दिएर मात्रै दायित्व पूरा हुँदैन । वनकरिया जातिलगायत लोपोन्मुख समूहका जातिको बृहत्तर विकासमा राज्यले विशिष्ट नीति अघि सार्नुपर्ने देखिन्छ ।  

–युवामञ्च