• ३ वैशाख २०८३, बिहिबार

सहिद भीमनारायण गोल्डकप जेठ ३ देखि हुने

blog

धनकुटामा हुने सहिद भीमनारायण गोल्डकप । फाइल तस्बिर

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), वैशाख ३ गते ।
धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण आगामी जेठ ३ गतेदेखि सञ्चालन हुने भएको छ। सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा ‘ए’ डिभिजनका ३ टिम र अन्य ५ टिम गरी कुल ८ टिमको सहभागिता रहने जनाइएको छ। वि.सं. २०६३ सालदेखि सञ्चालन हुँदै आएको भीमनारायण गोल्डकपको यो १८औँ संस्करण हो।

अघिल्लो वर्ष सम्पन्न १७औँ संस्करणको उपाधि नमोबुद्ध फुटबल क्लब, सप्तरीले जितेको थियो भने गाईघाट फुटबल क्लब, उदयपुर उपविजेता बनेको थियो। १७औँ संस्करणमा विजेताले पाँच लाख र उपविजेताले तीन लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

यस वर्ष भने पुरस्कार राशिमा वृद्धि गर्ने तयारी गरिएको मूल आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपियाँसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्ने तयारी छ।

प्रतियोगितामा स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्लब तथा ए–डिभिजन क्लबका खेलाडीहरूको सहभागिता रहनेछ। स्थानीय खेलाडी उत्पादन, युवा खेलाडी विकास, सहिद भीमनारायण श्रेष्ठको योगदानको स्मरण, तथा खेलमार्फत पर्यटन प्रवर्धन, आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको जनाइएको छ।

वि.सं. १९९४ असार २४ गते जन्मिनुभएका श्रेष्ठ २०३० साल चैत ३ गते विराटनगरमा भएको बम विस्फोटनको अभियोगमा जेल जीवन व्यतीत गर्नुभएको थियो। उहाँले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिँदै २०३५ साल माघ २६ गते कोशी किनारस्थित कोशी टप्पु, सुनसरीमा सहादत प्राप्त गर्नुभएको थियो। उहाँलाई नेपाल सरकारले २०७२ साल फागुनमा सहिद घोषणा गरेको थियो।

उहाँकै नाममा वि.सं. २०५५ सालदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ।