• ३ वैशाख २०८३, बिहिबार

बाँकेमा बाढीबाट ६५ हजारभन्दा बढी प्रभावित हुने अनुमान

blog

जिल्ला विपद् व्यवस्थापनको जिम्मेवारी रहेको जिल्ला प्रशासन कार्यालय बाँके। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख ३ गते ।
बाँके जिल्लामा विगतका विपद् घटनाहरूको विश्लेषण गर्दै सम्भावित जोखिमको आंकलनसहित जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ।

उक्त योजना अनुसार यस वर्ष बाढीबाट मात्रै जिल्लामा ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्लाका आठ स्थानीय तहका ५२ वडाका १३ हजार २५७ घरधुरी बाढीबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको प्रतिकार्य योजनामा ती घरधुरीका ६५ हजार ४४२ जना बाढीको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।

योजनाअनुसार बाँकेमा राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेका छन्। राप्तीसोनारीका नौ वडाका ३ हजार २७९ घरधुरीका १७ हजार ६९५ जना तथा डुडुवाका ६ वडाका ३ हजार ८८२ घरधुरीका १९ हजार ८५२ जना प्रभावित हुने अनुमान गरिएको छ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाका विभिन्न वडा पनि बाढीको जोखिममा रहेका छन्।

नेपालगन्जका ५१०, कोहलपुरका दुई हजार ३४, नरैनापुरका ३९१, बैजनाथका एक हजार ५४०, खजुराका एक हजार ४९५ र जानकीका ३२६ घरधुरी प्रभावित हुने अनुमान गरिएको छ।

पश्चिम राप्ती नदीमा आउने बाढी, गर्मीयाममा हुने आगलागी तथा जाडोयाममा लामो समयसम्म चल्ने शीतलहरका कारण जिल्लाका धेरै परिवार तथा समुदाय विपद्को उच्च जोखिममा रहेका छन्।

तुलनात्मक रूपमा हरेक वर्ष दोहोरिने र ठुलो जनसङ्ख्यालाई प्रभावित गर्ने भएकाले बाँकेमा बाढीलाई मुख्य प्रकोपका रूपमा लिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।