• ५ वैशाख २०८३, शनिबार

बर्दिवासमा पाँचौँ आदिवासी जनजाति महोत्सव हुने

blog

महोत्सवबारे जानकारी दिँदै नोपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदका पदाधिकारीहरू । तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, वैशाख ३ गते । आफनो समुदायको संस्कृति सम्वर्धन, प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्तरीमा आदिवासी जनजातिको महोत्सव हुने भएको छ । 

महोत्सवले सौहार्दपूर्ण सामाजिक एकता र सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । 

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), जिल्ला समन्वय परिषद महोत्तरीले बर्दिवास नगरपालिका वडा १४ मा ‘आदिवासी जनजाति महोत्सव २०८३’ को पाँचौँ संस्करण आयोजना गर्न लागेको हो । 

परिषदले बर्दीबास-३, गौरीडाँडामा बिहीबार पत्रकार सम्मेलन गरी जनजातिको ऐतिहासिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै विकास र समृद्धिमा टेवा गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । 

वैशाख ११ देखि २५ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा जनजातिका भेषभुषा, रहनसहन, खानपान, कला–संस्कृति र हस्तकलाको विशेष प्रदर्शनी गरिने जनाइएको छ । तराईको फाँटदेखि चुरेको विकट डाँडासम्म १५ वटा स्थानीय तहमा फैलिएको महोत्तरीमा मगर, तामाङ, थारू, दनुवार, भुजेल, राई, नेवार, मण्डल, माझी र गुरुङ्ग लगायत १० भन्दा बढी जनजातिको बसोवास रहेको छ । 

सांस्कृतिक अतिक्रमणको चपेटामा परेका यी जातजातिको सभ्यता तथा सम्पदाको संरक्षण र सम्वर्धनमा यो महोत्सव कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको परिषद अध्यक्ष धननारायण जोशीले बताउनुभयो । 

श्रेष्ठले भन्नुभयो, ‘भाषा, संस्कृतिको सम्मानले सभ्यताको संरक्षण गर्ने भएकोले जनजातिको पहिचान, सामाजिक सद्भाव, सास्कृतिक विविधता र मौलिक ज्ञान र सीपलाई प्रवर्धन गर्ने उद्देश्यले पाँचौँ संस्करणको महोत्सव गर्न लागेका हौं । महोत्सवमा जनजाति लगायत सम्पूर्ण समुदायको उत्साहजनक सहभागिताका लागि आग्रह गर्दछौं ।’

परिषदका वरिष्ठ उपाध्यक्ष हर्कबहादुर तामाङका अनुसार महोत्सव स्थलमा व्यापारिक प्रयोजनका १५० स्टल राखिने व्यवस्था मिलाइएको छ । तीमध्ये १० स्टल आदिवासी जनजातिका भेषभुषा तथा प्रदर्शनका लागि छुट्याइएको छ । बाँकी रहेको एक सय ४० स्टलमध्ये पनि महोत्तरीको औधोगिक एवं रैथाने कृषि उत्पादनका लागि निःशुल्क उपलब्ध गराइने छ । 

यस बाहेक स्थानीय व्यापारीको सहुलियतका लागि प्रतिस्टल २० प्रतिशत छुटको सुविधा पनि मिलाइएको तामाङले जनाउनुभयो । चौथो संस्करणमा करिब ६० हजार अवलोकनकर्ताले भ्रमण गर्ने अनुमान छ । प्रति व्यक्ति प्रवेश शुल्क ८० रुपियाँ तोकिएको छ । 

आयोजकले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विधार्थीका लागि शनिबार ५० प्रतिसत छुट तथा ज्येष्ठ नागरिक र अपाङ्गलाई निःशुुल्क प्रवेशको सुविधा छुट्याइएको जनाएको छ । 

पाँचौँ संस्करणको महोत्सवमा दर्शकका लागि मनोरञ्जनको विविध विकल्पहरू राखिएका छन् । स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुतिसँगै युवा र बालबालिकाका लागि लन्डन ब्रिज, आइफिल टावर, युनिभर्सल र बाल उद्यानजस्ता संरचनाहरू विशेष आकर्षणको रूपमा रहने छन् ।

महोत्सवबाट करिब ४० लाख आम्दानी र ३५ लाख खर्च हुने अनुमान छ । बचत भएको ५ लाख रुपियाँ जिल्लाको जनजातिको उत्थान, विकास र सामाजिक कार्यमा खर्च गरिने वरिष्ठ उपाध्यक्ष तामाङले स्पष्ट पार्नुभयो । सञ्चारकर्मीको एक प्रश्नमा तामाङले भन्नुभयो, ‘कार्यालय भवनको अभावमा परिषदको कार्य सम्पादन र संस्थागत विकाशमा अनेकन वाधा अवरोधको सामना गर्नु परेकाले बचत भएको रकमको सदुपयोग गर्दै भवन निर्माणको पहल थालिने योजना रहेको छ ।’

महोत्सवलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकायसँग समन्वय गरिएको छ भने आवश्यकता अनुसार स्वयंसेवक परिचालन गरिने जनाइएको छ । 

परिषद अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘जनजातिको सत्प्रयासमा आयोजना गर्न लागिएको महोत्सवको पाँचौँ संस्करणलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, र स्थानीय जनसमुदायसँग सहयोगको हामी अपिल गर्दछौं ।’