खोटाङ, वैशाख ३ गते । दिक्तेल बजारमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा आएको छ ।
स्थानीय कृषकलाई जैविक एवं प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष ध्रुव श्रेष्ठले भन्नुभयो,“जिल्लामा प्राङ्गारिक खेती प्रणाली तथा रैथाने प्रजातिका बालीनाली संरक्षण गर्न आवश्यक छ । कृषकको जीविकोपार्जनमा सहयोग पु¥याउँदै उनीहरुले उत्पादन गरेका कृषिउपज विश्व बजारसम्म लक्ष्यका साथ सालपा कृषि कम्पनीको स्थापना भएको हो ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नुभएको कृषि मार्टमा लेकाली सिमी, कालो दाल, सेतो ड्वाङ्गे दाल, लेकाली मकै, भटमास,सातु, कागुनो, नफलेको ९ब्राउन० स्थानीय अटेमार्सी चामल, फलेको अटेमार्सी चामल, मकैको च्याख्ला, जुवाइँ कोदोको पिठो, फापरको पिठो, कालो गहत, खैरो गहत, गुन्द्रुक, पिडालुको सिम्टा र भुजुरी, जौ, आलुको मस्यौरा, रावाखोलाको असला माछाको सुकुटी, तिल, बदाम, सुकेको अकबरे खुर्सानी, सुकेको जिरे खुर्सानी, बेसार, स्थानी तोरीको तेल, उसिनेको लेकाली मकै, घ्यु, मेहेलको सर्बत्, सखर, जुनेलोलगायतका कृषिउपज बिक्रीका लागि राखिएको छ । बीउबिजनमा भटमास, जुवाइँ कोदो, लेकाली सिमी, मकै, जौ, कागुनो, जुनेलो, गहत, दाल, मुला, गाजर, गोलमेडा, प्याज, लसुन, धनियाँ, रायो सागलगायत रहेको कम्पनीका व्यवस्थापक देवकुमार राईले जानकारी दिनुभएको छ ।
कृषि मार्टमा विभिन्न प्रकारका आधुनिक कृषि सामग्री तथा औजारसमेत रहेको जनाइएको छ । हजारी, स्प्रे मेसिन, प्राङ्गारिक मलहरु, भिटामिन, प्लाष्टिक टनेल, फेन्सिङग जाली, हर्मेटिक ब्याग, साइलेज ब्याग, च्याउको प्लाष्टिक, गार्डेनिङ पाइप आदि आवश्यकीय कृषि सामग्री तथा औजार बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।
कृषिजन्य सामग्री उत्पादन, प्रवद्र्धन र बजारीकरणका लागि रैथाने तथा गुणस्तरीय बीउबिजन, मल, सीप औजार र प्रविधिसम्बन्धी किसानसँग सहकार्य गरेर दिगो कृषि विकासका लागि विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
यस्तै, कृषिजन्य वस्तुहरुको सङ्कलन, प्रशोधन र प्याकेजिङ गरी गुणस्तयुक्त उत्पादन बजारमा पु¥याउन, स्थानीय कृषिउपजका बीउबिजन सङ्कलन, संरक्षण गर्ने तथा जैविक अर्गानिक कृषि उत्पादनलाई सुरक्षित भण्डारण तथा चिस्यान केन्द्र व्यवस्थापन गरी बिक्री वितरण गर्ने, कृषक र कृषक समूहको कृषि उत्पादन खरिद गरी बजारीकरण गर्ने, रैथाने कृषि उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने जनाइएको छ ।
जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका १५ जना व्यक्तिको शेयर लगानीमा स्थापना गरिएको कृषि कम्पनीले सरकारी तथा गैरसरकारी कार्यालय, सहकारी संस्था, किसान समूह, बैंक तथा वित्तिय संस्था र उद्देश्य मिल्ने अन्य व्यवसायीसँग साझेदारी र सहकार्य गर्ने, वातावरणमैत्री प्रविधि, जैविकखेती र दिगो कृषि अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
यस्तै, स्थानीय प्रविधिको नवप्रर्वतन, अध्ययन, अनुसन्धान र प्रयोगमार्फत उत्पादन प्रणालीमा सुधार गर्ने, कृषि फर्म, कृषि पर्यटन, कृषि उद्योग, कृषिउपज बिक्री केन्द्र र तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने, पशुपालन, पशुजन्य उत्पादन तथा प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने कम्पनीले जनाएको छ ।
कृषि कम्पनीले कृषि प्राविधिक परिचालन गरी जिल्लाभरिका विभिन्न कृषक समूहमार्फत रैथाने बाली खेती प्रणालीको सम्भावनाको खोजी, खेतबारीदेखि बीउ भण्डारण, समर्थन मूल्य निर्धारण, ग्रेडिङ तथा प्याकेजिङ, गुणस्तर प्रत्याभूति आदि आवश्यक सीप तथा प्रविधि हस्तान्तरण गर्ने जनाएको छ । जिल्लामा उत्पादित सम्पूर्ण कृषि उपजहरु आवश्यक प्रक्रिया पूरा गरी ब्राण्डिङमार्फत बजारसम्म पु¥याउने र आउटलेटका निकट भविष्यमा नै काठमाडौँमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।
कम्पनीले जिल्लाभित्रका स्थानीय कृषहरुको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने मात्र नभई विभिन्न रैथाने प्रजातिका बीउबिजन संरक्षण गरेर जैविक विविधता संरक्षण र दिगो विकासमा समेत सहयोग पु¥याउने लक्ष्य लिएको छ । कम्पनीको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकारवालाहरुबाट आवश्यक रचनात्मक सहयोग र साझेदारीताको अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । रासस