काठमाडौँ, वैशाख ३ गते । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आज बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठकमा यसबारे छलफल भएको हो ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्दाम्बे, नेकपा (एमाले)का तर्फबाट पद्मा अर्याल र गुरु बराल तथा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट युवराज दुलाल लगायतका शीर्ष नेताको सहभागिता रहेको छ । बैठकमा संसदीय परम्परा अनुसार प्रतिपक्षी दलले पाउने लेखा समितिको नेतृत्वका लागि सबै विपक्षी दलले स्वीकार गर्ने साझा व्यक्तित्वको खोजी गर्ने विषयमा संवाद केन्द्रित भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताले विपक्षी दलबिचको यो सहकार्यले संसद्मा सरकारलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । संसदीय अभ्यासमा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने प्रचलन रहिआएको छ ।
सोही पदका लागि श्रम संस्कृति पार्टीले पनि आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेको छ । हालको अङ्कगणित अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त गर्ने उम्मेदवारले नै समितिको नेतृत्व सम्हाल्ने सम्भावना देखिएको छ ।