• ५ वैशाख २०८३, शनिबार

नुवाकोटमा ‘ग्लान ङारदिम’ को विशेष कार्यक्रम हुने

blog

दुप्चेश्वर गाउँपालिका –४, गोल्फु नम्सापुरानमा निर्माण सम्पन्न भएको सांस्कृतिक भवन ।

गोरखापत्र अनलाइन

नुवाकोट, वैशाख ३ गते । ‘भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान’ नारासाथ विश्वभर छरिएर रहेका तामाङभित्रको ग्लानहरुको पुर्ख्याैली भूमि नुवाकोट गोल्फु नम्सापुरानमा विशेष कार्यक्रम हुने भएको छ । 

वैशाख १८ गते ग्लानहरूको उद्गम थलो दुप्चेश्वर गाउँपालिका-४, गोल्फु नम्सापुरानमा निर्माण सम्पन्न भएको सांस्कृतिक भवन ‘ग्लान ङारदिम’ को उदघाटन तथा ग्लान समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

ग्लानको ऐतिहासिक पहिचान र पुर्ख्याैली थातथलो (बाब्सा) जोगाउने उद्देश्यले निर्माण गरिएको ‘ग्लान ङारदिम’ सङ्ग्रहालयको रूपमा अघि बढाउने भएको छ । ङारदीम निर्माणका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सङ्घीय सरकारको बजेट विनियोजन गरिएको थियो । 

सङ्घीय सरकारबाट ९० लाख र दुप्चेश्वर गाउँपालिकाबाट ९ लाख रुपियाँमा सो निर्माण सम्पन्न भएको छ । आयोजक समितिका संयोजक अर्जुनबहादुर तामाङका अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका ग्लानलाई एउटै सूत्रमा बाँध्न र आफ्नो पुर्ख्याैली थलोको संरक्षण सम्बर्धन गर्दै सांस्कृतिक धरोहरको पहिचानलाई थप सुदृढ बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।