• ५ वैशाख २०८३, शनिबार

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

blog

शशिधर पराजुली

विराटनगर, वैशाख ५ गते । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले सिंगापुरका नागरिकहरुलाई केही बेरअघि नियन्त्रणमा लिएको हो ।

शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन् । कार्यक्रममा नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्षमुनिका १२ जना किशोरीसहित  ३० जनाजति सहभागी थिए ।

प्रहरीका अनुसार हलभित्र लाफिङ बुद्धको मूर्ति राखेर गौतम बुद्धको ज्ञानका नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार भइरहेको पाइएको हो ।