राधाकृष्ण डुम्रे
स्याङ्जा, वैशाख ५ गते । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन् ।
भीरकोट नगरपालिका–५ पकौंका कृषक रमाकान्त अर्याल अहिले निकै खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आँधीखोलाको किनार तथा बगर क्षेत्रमा खेती गर्दा राम्रो हुन्छ भनेर तरबुजा लगाएका थियौँ, अहिले फल दिन थालेको छ ।” नगरपालिकाले आवश्यक सहयोग गरेपछि परीक्षणका लागि तरबुजा लगाएको उहाँले बताउनुभयो ।
नगरपालिकाले बगर क्षेत्रमा परीक्षणका लागि तरबुजा खेती सुरु गरेको हो । पहिलोपटक लगाइएको खेतीका लागि पालिकाले विभिन्न सहयोग गरेको कृषकहरूले बताएका छन् ।
नगरपालिकाले हेफर इन्टरनेसनल र दियालो संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘भीरकोट कृषि तथा पशु विकास परियोजना’ मार्फत तरबुजा खेती सुरु गरिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणका लागि बगर र खोलाको किनार क्षेत्रमा तरबुजा लगाउन सुरु गरेका थियौँ, अहिले फल दिन थालेको छ ।” अहिलेको परीक्षण सफल भएमा आँधीखोलाको किनारमा व्यावसायिक तरबुजा खेती गर्ने योजना रहेको उहाँको भनाइ छ ।
भीरकोट क्षेत्रको हावापानी र माटो तरबुजा खेतीका लागि उपयुक्त देखिएकाले परीक्षणका रूपमा खेती सुरु गरिएको भीरकोट नगरपालिकाका कृषि शाखा प्रमुख श्रवणकुमार विष्टले जानकारी दिनुभयो ।
पालिकाले व्यावसायिक रूपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो । भीरकोटका किसानले परीक्षणका रूपमा लगाएको खेती राम्रो भएमा ठुलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिने पालिकाको योजना रहेको छ ।
भीरकोट नगरपालिका–१, आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकौंका र वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलोपटक तरबुजा खेती सुरु गरिएको हो । यसपटक १८ जना किसानले तरबुजा लगाएका छन् । लक्ष्मी र सरस्वती दुई जातका तरबुजा परीक्षणका लागि रोपिएको परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले बताउनुभयो ।
भीरकोटमा उत्पादित तरबुजा किसान आफैँले बिक्री गर्न सक्ने र यदि नसकेको खण्डमा नगरपालिकाले जिम्मा लिने पालिकाले जनाएको छ ।