विजयकुमार साह
ढल्केबर, वैशाख ३ गते । धनुषाको मिथिला नगरपालिका–११, चुरेस्थित स्वास्थ्य चौकी भौगोलिक रूपमा विशेष महत्त्व बोकेको केन्द्र बनेको छ । यो स्वास्थ्य चौकी धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ भने मधेश र बागमती प्रदेशको सीमासमेत जोड्दछ । त्यसमाथि महोत्तरीको बर्दिवास नगरपालिका–३, राजावाससमेत नजिकै रहेकाले यो चौकी तीन जिल्ला र दुई प्रदेशका बासिन्दाका लागि सहज पहुँचको स्वास्थ्य सेवा केन्द्र बनेको छ ।
मिथिला नगरपालिकाले वडा नम्बर ११ का बासिन्दालाई लक्षित गर्दै स्थापना गरेको यो स्वास्थ्य चौकी अहिले सीमावर्ती क्षेत्रका नागरिकका लागि साझा उपचार केन्द्र बनेको छ । धनुषाका स्थानीयसँगै सिन्धुली र महोत्तरीका बासिन्दा पनि सहज पहुँचका कारण उपचारका लागि यहीँ आउने गरेका छन् । टाढा रहेका ठुला अस्पतालसम्म पुग्न समय र खर्च लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्यादेखि गर्भवती जाँच, बालबालिका खोप, साना चोटपटकलगायतका सेवाका लागि यो चौकी नै पहिलो रोजाइ बन्ने गरेको स्वास्थ्य चौकीकी कार्यालय सहयोगी सबिता घिसिङले बताउनुभयो ।
उहाँका अनुसार यसको महत्त्व जति ठुलो छ, सेवाग्राहीको सङ्ख्या भने अपेक्षाकृत कम छ । आसपासको बस्तीमा जनसङ्ख्या कम भएका कारण बिरामीको चाप न्यून रहने गरेको उहाँको भनाइ छ । तर सीमावर्ती क्षेत्रका लागि यो स्वास्थ्य चौकी आकस्मिक अवस्थामा जीवनरक्षकको भूमिका खेल्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र महतोले भन्नुभयो, “यो चौकी एउटा वडाको मात्र नभई तीन जिल्लाका नागरिकलाई सेवा दिने केन्द्र बनेको छ । यहाँ धनुषा, सिन्धुली र महोत्तरीबाट बिरामी आउनुहुन्छ । यद्यपि बस्तीका अधिकांश युवा तथा हुनेखाने बाहिर रहेकाले सेवाग्राही कम सङ्ख्यामा आउने गरेका छन् । तर आवश्यकताका हिसाबले यसको भूमिका निकै महत्त्वपूर्ण छ ।”
यदि पूर्वाधार, औषधी र जनशक्ति थप गर्न सकियो भने यहाँबाट अझ प्रभावकारी सेवा दिन सकिने उहाँले जानकारी दिनुभयो ।
स्थानीय प्रेमबहादुर कार्कीले आकस्मिक अवस्थामा छिटो उपचार पाउन सकिने भएकाले यसले ठुलो राहत दिएको बताउनुभयो । पहाडी र तराई क्षेत्रको सङ्गमस्थलमा रहेको यस चौकीले भौगोलिक जटिलताबिच स्वास्थ्य सेवा पुर्याउने उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ ।
कार्कीका अनुसार आकस्मिक बिरामी, सामान्य ज्वरो, चोटपटक, गर्भवती सेवा लगायतका आधारभूत उपचारका लागि यो स्वास्थ्य चौकी निकै उपयोगी सावित भएको छ । यो स्वास्थ्य चौकी केवल एउटा सेवा केन्द्र मात्र नभई सीमाना र समुदाय जोड्ने पुलजस्तै बनेको उहाँको भनाइ छ ।