• ३ वैशाख २०८३, बिहिबार

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

blog

तस्बिर : एपी

कायरो, वैशाख ३ गते । करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ । यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुट्नुभएको छ ।

मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबिच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ । ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।

यसअघि इस्लामाबादमै भएको प्रत्यक्ष संवादले दुई पक्षबिचको मतभेद घटाउन मद्दत गरेको अधिकारीहरूले बताएका छन् । त्यसकै निरन्तरताका रूपमा विशेषगरी युद्धविरामको समयसीमा सकिनुअघि अर्को चरण सुरु गर्ने लक्ष्यसहित पाकिस्तानले पुनः वार्ताको वातावरण बनाउन खोजिरहेको छ ।

तर कूटनीतिक प्रयाससँगै दबाबको रणनीति पनि जारी छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्ने मुलुकहरूमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभयो । उहाँले यसलाई बम आक्रमणको ‘वित्तीय समकक्ष’ का रूपमा व्याख्या गर्नुभएको छ ।

यता क्षेत्रीय स्रोतहरूका अनुसार अमेरिका र इरानबिच युद्धविराम थप विस्तार गर्ने विषयमा ‘सैद्धान्तिक सहमति’ बनेको छ, जसले थप वार्ताका लागि समय उपलब्ध गराउने छ । यद्यपि, इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी र तेहरानका कडा प्रतिक्रियाले यो सहमति अझै संवेदनशील अवस्थामा रहेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग प्रारम्भिक छलफल गरिसक्नुभएको छ । तर, इरानी सैन्य नेतृत्वबाट आएका कडा अभिव्यक्तिहरूले स्थिति अझै जटिल रहेको सङ्केत दिएका छन् । इरानले नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सर्वोच्च नेतृत्वका सल्लाहकारहरूले युद्धविराम विस्तारप्रति असन्तुष्टि जनाएका छन् ।

वार्ताका मुख्य अवरोधहरू पनि स्पष्ट देखिएका छन् । इरानको आणविक कार्यक्रम, होर्मुज जल डमरूमध्यको नियन्त्रण र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति—यी तीन विषयमा सहमति जुटाउन मध्यस्थकर्ताहरूले दबाब बढाइरहेका छन् । इरानले युरेनियम संवर्धनबारे छलफल गर्न तयार रहेको जनाए पनि आफ्नो आवश्यकतानुसार संवर्धन जारी राख्न पाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

युद्धको प्रभाव विश्वव्यापी रूपमा महसुस भइरहेको छ । होर्मुज जल डमरूमध्य हुँदै हुने तेल ढुवानी प्रभावित हुँदा ऊर्जा बजार अस्थिर बनेको छ । तेलको मूल्य आकासिएपछि इन्धन, खाद्यान्न र अन्य आवश्यक वस्तुको मूल्य वृद्धि विश्वभर देखिएको छ । यद्यपि, हालै युद्ध अन्त्य हुने आशामा तेलको मूल्य केही घटेको छ र अमेरिकी सेयर बजारले पनि नयाँ उचाइ छोएको छ ।

यसबिच चीनले पनि कूटनीतिक पहललाई समर्थन गर्दै होर्मुज जल डमरूमध्य पुनः खोल्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले शान्तिको अवसर खुलिरहेको उल्लेख गर्दै इरानको सार्वभौमिकता सम्मान गर्दै जलमार्गको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

अमेरिकी सेनाले इरानी ढुवानीमाथि लगाएको नाकाबन्दी अझै प्रभावकारी रहेको जनाएको छ । हालसम्म कुनै जहाजले उक्त नाकाबन्दी पार गर्न नसकेको र केही जहाजहरूलाई फर्काइएको जानकारी दिइएको छ । यो कदम इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले चालिएको हो ।

यसैबिच, इजरायल–लेबनान मोर्चामा पनि तनाव घटेको छैन । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र स्थल कारबाही जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्धको अभियान जारी राख्ने बताउनुभएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा तीन जना प्यारामेडिक्सको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । यसले मानवीय सङ्कट अझ गहिरिँदै गएको सङ्केत गरेको छ ।

सन् १९४८ मा इजरायल स्थापना भएयता लेबनानसँगको द्वन्द्व औपचारिक रूपमा अन्त्य नभएको अवस्थामा अहिलेको अवस्था थप जटिल बनेको देखिन्छ । यस समग्र परिस्थितिमा पाकिस्तानको मध्यस्थताले कूटनीतिक समाधानतर्फ नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ । रासस/एपी