गोविन्द शर्मा
बाँके, वैशाख ३ गते । बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँस्थित मिनी रङ्गशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताका लागि एक व्यक्तिले सात लाख नगद सहयोग गरेका छन्।
वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले प्रतियोगिता सञ्चालनका लागि व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। आयोजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले सहयोग रकम प्राप्त भएको जानकारी दिनुभयो।
थापाले आफ्नो पिता स्व. गजबहादुर सिजालीको स्मृतिमा क्लबलाई प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “गाउँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोली ल्याएर गोल्डकप सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। क्लबले गरेको प्रयासमा व्यक्तिगत रूपमा सहयोग गर्न पाउँदा खुसी लागेको छ।”
अमेरिकाबाट पठाइएको उक्त रकम थापाका दाजु बालवीर थापा लगायत परिवारका सदस्यहरूले क्लब अध्यक्ष खत्रीलाई हस्तान्तरण गरेका हुन्।
स्व. गजबहादुर सिजाली न्यू डाँफे स्पोट्र्स क्लबका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो। क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। विजेताले सात लाख र उपविजेताले चार लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एमटी एरिना लगायतले आर्थिक सहयोग गरेका छन्।
थापा १८ वर्षअघि डिभी परेर ३३ वर्षको उमेरमा अमेरिका जानुभएको थियो । उहाँले हालसम्म करिब १० करोडभन्दा बढी रकम विपन्न समुदायको सहयोगमा खर्च गरिसकेको बताउनुभएको छ।