• ३ वैशाख २०८३, बिहिबार

स्याउका बोट सेताम्मे

blog

मुस्ताङ, वैशाख ३  गते ।  यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरू फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताउनुभयो । स्याउलाई  चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उहाँको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको उहाँको भनाइ छ । स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गर्नुभयो । 

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिनुभयो ।

 स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरु स्वतः प्राकृतिक रूपमा परागसेचन हुने र कतिपय स्याउका जातहरूलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताउनुभयो । 

परागतसेचनका लागि हावा र मौरीको भूमिका हुने उहाँले जनाउनुभयो । एक हेक्टर स्याउको क्षेत्रफलमा करिब छदेखि आठ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त ढङ्गबाट परागसेचन भई उत्पादन र गुणस्तर बढाउने जनाइएको छ । 

चालु वर्ष छ, सात पटकसम्म वर्षा र हिमपात भएको भए पनि स्याउ बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पुर्‍याउने गर्छ । स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयको रूपमा लिने गरिएको छ । जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटहरूमा फूल फुलेर सेताम्मे भइसकेको छ । स्याउको एक स्फरमा सात वटासम्म फूल फुल्ने गर्छ । अनाधिकृत स्याउका हाँगाहरूमा फूल फुलेमा प्राविधिकको रूपमा आवश्यक फूलहरू रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ–४, जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्णरूपमा साथ दिनुपर्ने बताउनुभयो । स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम ढुुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पुर्‍याउने किसान उहाँको भनाइ छ । स्याउ बोटमा अझै पूर्णरूपमा फूल फुल्न एक साता समय लाग्ने उहाँको भनाइ छ ।

यहाँका किसानलाई स्याउ खेतीमा अनुदानलगायत किसानलाई स्याउ खेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसँग सम्वन्धित सरकारी निकायहरूले प्रशिक्षित तुल्याउने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा स्याउखेतीका लागि सम्भावना रहेकाले सरकारले स्याउ खेतीका लागि खेर गइरहेका सरकारी बाँझो जग्गालाई भाडाको दायरामा ल्याउने नीति बनाउन आवश्यक रहेको किसान उहाँ बताउनुहुन्छ । रोजगार उपलब्ध नहुँदा धेरैजसो युवाहरू विदेश पलायन हुने गरेको जनाउँदै किसान शेरचनले सरकारले सरकारी जग्गालाई नाप नक्सा गरी उपयोगमा ल्याउन सकेमा किसानको आयस्रोतमा वृद्धि हुने र यसबाट सरकारले पनि राजस्व सङ्कलन गर्नमा टेवा पुग्ने बताउनुभयो ।

जिल्लाका पाँच स्थानीय तहमा गरी स्याउको कूल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ । रासस