प्रेम अधिकारी
पशुपतिनगर (इलाम), वैशाख ३ गते । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपान्डाको संरक्षणका लागि इलामसहित पहाडी जिल्लामा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ। रेडपान्डा नेटवर्क नेपालले इलाम, पाँचथर र ताप्लेजुङका उच्च लेकाली तथा हिमाली क्षेत्रमा विभिन्न संरक्षण गतिविधि सञ्चालन गर्दै आएको हो।
नेटवर्कले विद्यालयमा पाठ्यक्रम निर्माण गरी लागु गर्ने, दुई लाखभन्दा बढी बिरुवा रोप्ने, कुकुरलगायतका जनावरबाट रेडपान्डाको संरक्षण गर्ने तथा पानीका पोखरी निर्माण गर्ने जस्ता कार्यक्रम अघि बढाएको रेडपान्डा नेटवर्क इलामका कार्यक्रम संयोजक राम रिमालले जानकारी दिनुभयो।
उहाँका अनुसार संस्थाको वार्षिक करिब ६ करोड २४ लाख रुपियाँ बजेट रहेको छ। रेडपान्डा नेटवर्क नेपाल, दिज्योति युवा क्लब तथा स्थानीय पालिकाहरूको सहकार्यमा स्थानीय रेडपान्डा परियोजना समितिमार्फत संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।
हालसम्म पाँच वटा विद्यालयमा रेडपान्डा संरक्षणसम्बन्धी पाठ्यक्रम लागु गरिएको छ भने ३९८ कुकुरलाई एन्टी–रेबिज खोप लगाइएको छ। त्यसैगरी तीन जिल्लाका दर्जनौँ सामुदायिक वनमा रेडपान्डाको आहारका रूपमा रहेका प्रजातिका दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ।
कार्यक्रम संयोजक रिमालले भन्नुभयो, “समुदाय सचेत नभएसम्म रेडपान्डाको संरक्षण कठिन हुन्छ, त्यसैले हामीले समुदाय सचेतना कार्यक्रममा जोड दिएका छौँ।”
वनजङ्गल विनाश, पासो थाप्ने कार्य तथा मानवीय अतिक्रमणका कारण रेडपान्डाको अस्तित्व जोखिममा परेको छ। नेटवर्कले इलामका सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकामा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले स्थानीयलाई तालिम दिएर हालसम्म ८११ जनालाई रोजगारीसमेत उपलब्ध गराएको जनाएको छ। यसअघि रेडपान्डाको संरक्षण र प्रवर्धनका लागि इलाम बजारदेखि सन्दकपुर डाँडासम्म ४२ किलोमिटर दूरीको रेडपान्डा म्याराथन पनि आयोजना गरिएको थियो।
सूर्योदय नगरपालिका–१, चित्रेहिले सामुदायिक वन क्षेत्रमा पनि संरक्षणका काम भइरहेको रेडपान्डा संरक्षक रविन बुढाथोकीले जानकारी दिनुभयो।
संरक्षण प्रयाससँगै स्थानीय समुदायले रेडपान्डा अवलोकनमार्फत आयआर्जन गर्न थालेका छन्। सन् २०२५ मा मात्र २५ जना विदेशी पर्यटक रेडपान्डा अवलोकनका लागि आएको तथ्याङ्क नेटवर्कसँग रहेको छ। आन्तरिक पर्यटकको पनि उल्लेख्य उपस्थिति रहेको छ।
रेडपान्डा अवलोकनका लागि प्रति व्यक्ति एक हजार पाँच सय शुल्क लिने गरिएको छ। संरक्षणसँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनसमेत बढ्दै गएको स्थानीयवासीले बताएका छन्।
सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले वनजंगल संरक्षणमा कमीका कारण रेडपान्डा जोखिममा परेको उल्लेख गर्दै आगामी वर्षदेखि संरक्षणका लागि बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
नेपालका करिब १३ जिल्लामा पाइने रेडपान्डाको सङ्ख्या एक हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ। इलामका थुम्के, सन्दकपुर, जौवारी, मेघमा, पाटेनागी लगायत क्षेत्र तथा भारतको सिङ्गालिला राष्ट्रिय निकुञ्ज यसका प्रमुख बासस्थान मानिन्छन्।
रेडपान्डाको पछिल्लो गणना सन् २०१६ मा गरिएको थियो भने आगामी गणना सन् २०२७ मा हुने तयारी रहेको संरक्षणकर्मीहरूले बताएका छन्। स्थानीय भाषामा यसलाई ‘हाब्रे’ वा ‘पुडे कुदो’ पनि भनिन्छ।