• २१ फागुन २०८२, बिहिबार

श्रीलङ्कातर्फ बढ्दै दोस्रो इरानी युद्धपोत

blog

गले (श्रीलङ्का), फागुन २१ गते । अमेरिकी पनडुब्बीको टारपीडो आक्रमणमा इरानी युद्धपोत डुबेर कम्तीमा ८७ नाविकको मृत्यु भएको घटनापछि अर्को इरानी युद्धपोत बिहीबार श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रतर्फ अघि बढिरहेको जानकारी श्रीलङ्काली सरकारका एक मन्त्रीले संसद्लाई दिएका छन् । 

घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । सञ्चारमन्त्री नलिन्दा जयतिसाले संसदमा जानकारी दिँदै दोस्रो इरानी युद्धपोत हाल श्रीलङ्काको क्षेत्रीय जल क्षेत्रभन्दा बाहिर रहेको बताउनुभयो । उहाँले जहाजको अवस्थाबारे थप प्राविधिक विवरण भने सार्वजनिक गर्नुभएन ।

यसैबिच राष्ट्रपति अनुरा कुमारा दिसानायकले इरानबाट आएको अनुरोधबारे छलफल गर्न बिहीबार शीर्ष सुरक्षा र सरकारी अधिकारीहरूसँग बैठक गर्नु भएको आधिकारिक स्रोतहरूले जनाएका छन् । इरानी पक्षले आफ्नो युद्धपोतलाई श्रीलङ्काको जलक्षेत्रमा प्रवेश अनुमति दिन अनुरोध गरेको बताइएको छ ।

स्रोतका अनुसार उक्त जहाजमा १०० भन्दा बढी चालक दलका सदस्य रहेका छन् । उनीहरूलाई बुधबार अमेरिकी पनडुब्बीले श्रीलङ्काको दक्षिणी तट नजिकै डुबाएको उस्तै प्रकारको अर्को युद्धपोत जस्तै आफू पनि आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता रहेको बताइएको छ ।

बुधबार भएको आक्रमण गलेबाट करिब ४० किलोमिटर दक्षिणतर्फ भएको श्रीलङ्काली नौसेनाले जनाएको छ । अमेरिकी सेनाले टारपीडो प्रहार गरेको दाबी गरिएको उक्त आक्रमणमा इरानी युद्धपोत पूर्ण रूपमा डुबेको थियो । डुबेको जहाजबाट उद्धार गरिएका ३२ जना इरानी नारिकको गलेको मुख्य अस्पतालमा उपचार भइरहेको छ । 

अस्पतालका अनुसार उनीहरूलाई कडा सुरक्षाबिच उपचार गरिँदैछ र प्रहरी तथा विशेष कमान्डो टोलीले अस्पताल परिसरमा निगरानी राखेको छ । चिकित्सा अधिकारीहरूले इरानी घाइतेका लागि अस्पतालमा छुट्टै वार्ड स्थापना गरिएको बताएका छन् । आपतकालीन उपचार कक्षमा अन्य बिरामी र आगन्तुकको पहुँच सीमित गरिएको छ ।

अस्पतालमा कार्यरत एक नर्सले नाम नखुलाउने सर्तमा अधिकांश घाइतेलाई सामान्य चोट लागेको जानकारी दिनुभयो । उहाँका अनुसार केहीलाई हड्डी भाँचिने र शरीर जलेका घाउसमेत देखिएका छन् । उता श्रीलङ्काली नौसेनाले अझै बेपत्ता रहेका इरानी नाविकको खोजी कार्य जारी राखेको जनाएको छ । नौसेनाकी प्रवक्ता बुद्धिका सम्पथका अनुसार जहाजबाट बुधबार बिहानै सङ्कटको सङ्केत पठाइएको थियो, तर उद्धार टोली घटनास्थल पुग्दासम्म जहाज पूर्ण रूपमा डुबिसकेको थियो ।

स्थानीय नौसेनाका अनुसार डुबेको इरानी युद्धपोत भारतको पूर्वी बन्दरगाह विशाखापट्टनममा सम्पन्न सैन्य अभ्यासबाट फर्किरहेको अवस्थामा आक्रमणमा परेको थियो । घटनाबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । गलेस्थित अधिकारी भने आक्रमणमा ज्यान गुमाएका ८७ इरानी नाविकका अवशेष हस्तान्तरण गर्ने तयारीमा जुटेका छन् ।

मध्यपूर्वमा इरानविरुद्ध अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको युद्ध विस्तार हुँदै क्षेत्रबाहिरका जल क्षेत्रसम्म असर देखिन थालेको छ । यसै पृष्ठभूमिमा श्रीलङ्का सरकारले आफू तटस्थ रहेको र क्षेत्रीय तनाव कम गर्न वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा दोहोर्याएको छ । आर्थिक सम्बन्धका दृष्टिले पनि इरान श्रीलङ्काका लागि महत्त्वपूर्ण साझेदार मानिन्छ । इरान श्रीलङ्काको प्रमुख निर्यात वस्तु चियाको मुख्य क्रेता मध्ये एक हो । रासस/एएफपी