जनार्जन खत्री
सर्लाही, बैशाख १८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा शुक्रबार दिउँसो ट्याक्टरको ठक्करबाट छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन् ।
शुक्रबार दिउँसो २ः३० बजे भीषण वर्षा भइरहेको समयमा हरिपुरतर्फबाट लालबन्दी आउँदैगरेको सेफ्टी ट्याङकी जडान गरिएको ना ५ त ३११३ नम्वरको ट्याक्टरले ठक्कर दिँदा हरिभवन निवासी सन्तोष भट्टराईकी छोरी छ वर्षीया अन्सु भट्टराईको मृत्यु भएको हो । बुवा सन्तोषले चलाएको साइकल पछाडि सवार अन्सुको ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा साइकल चालक सन्तोषसमेत घाइते हुनुभएको छ । उहाँको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।
मृतक बालिकाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक लालबन्दी नगरपालिका –१७, रानिगन्जका ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर जोहारीले बताउनुभयो ।