काठमाडौँ, वैशाख १८ गते । सक्षमता विकास समाज नेपालले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण गर्ने उद्देश्यका साथ १०औँ ‘हामी सबै सक्षम छौँ’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रमुख कोष सङ्कलन कार्यक्रमको यस संस्करण आगामी जेठ ९ गते हुने जानकारी दिएको छ ।
समाजका जनसम्पर्क तथा कोष विकास व्यवस्थापक निर्मला ज्ञवालीका अनुसार प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आयोजना गरिनेछ । उहाँले अपाङ्गता भएका व्यक्तिको समावेशी शिक्षा, पुनस्र्थापना तथा जीविकोपार्जनका अवसरमार्फत सशक्तीकरण गर्ने साझा अभियानमा सहभागी हुन गल्फ खेलाडी, कर्पोरेट साझेदार, विकास साझेदार संस्था तथा शुभेच्छुकलाई आग्रह गर्नुभयो ।
प्रतियोगिताको प्रभावकारिताबारे जानकारी दिँदै व्यवस्थापक ज्ञवालीले विगतका ९ वटा संस्करणबाट प्राप्त सहयोगले महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँका अनुसार हालसम्म १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ भने ३१५ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका विद्यार्थीलाई ब्रेल तथा स्पर्शशील शैक्षिक सामग्री उपलब्ध गराइएको छ । यस्तै, धेरै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक उपचार, शल्यक्रिया तथा सहायक सामग्री र पोषणयुक्त खाद्यान्न सहयोग गरिएको संस्थाले जनाएको छ ।
संस्थाले आर्थिक आत्मनिर्भरतातर्फ पनि जोड दिँदै आएको छ । सन् २०१४ मा स्थापना भएको यस समाजले विपन्न बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य र सीप विकासमा निरन्तर काम गर्दै आएको छ ।
यस वर्षको प्रतियोगिताको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिलाई समावेशी तथा दिगो सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर र स्वावलम्बी बनाउनु रहेको छ । च्यारिटी गल्फ प्रतियोगिता स्रोत सङ्कलनका साथै जनचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण माध्यम भएको संस्थाको दाबी छ । यस अभियानमा नागरिक समाज र कर्पोरेट क्षेत्रबाट समेत उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।