काठमाडौँ, वैशाख १७ गते । राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत चाङले आज सिंहदरबारस्थित उपाध्यक्ष भण्डारीको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो । भेटमा उपाध्यक्ष भण्डारीले नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो । “हामी एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छौँ” उहाँले भन्नुभयो । नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्शाउँदै आएको सम्मानलाई नेपालले सधैँ उच्च महत्त्व दिएको उहाँले जानकारी दिनुभयो ।
आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार नै अगाडि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकासलगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल एक आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको चर्चा गर्दै उपाध्यक्ष भण्डारीले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री गर्ने दिशामा सक्रियतापूर्वक कार्य गरिरहेको जानकारी गराउनुभयो । बेल्ट एण्ड रोड इनिसिएटिभ्स फ्रेमवर्कअन्तर्गत सहमति भएका परियोजनाहरूका साथै अन्य सहयोग परियोजनाहरूको कार्यान्वयनको गतिलाई तीव्रता दिन चाहेको पनि उपाध्यक्ष भण्डारीको भनाइ थियो ।
सो अवसरमा राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताउनुभयो । दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबिचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइँमा उठेको पनि उहाँको भनाइ थियो ।
नेपालमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको पनि बताउनुभयो ।