• १७ वैशाख २०८३, बिहिबार

‘साधारण खर्च कटौती गर्ने प्रदेश सरकारको प्राथमिकता’

blog

बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित अधिकारीहरु । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, वैशाख १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले साधारण खर्च कटौतीलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनु भएको छ । 

उहाँले भ्रमण लगायतका फजुल खर्च कटौती गरिएको भन्दै पेट्रोलिय पदार्थको अस्वाभाविक रुपमा मूल्य वृद्धिपछि अनावश्यक रुपमा सवारी साधनको प्रयोग नगर्ने लगायतका सुधारको काम गरिरहेकको बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चितता गर्न सरकार लागेको बताउनुभयो । 

साधारण खर्च कटौतीसँगै नागरिकलाई प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन लागेका छौँ, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “जनताले सहज र छिटो छरितो रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित्ता गर्न प्रदेश सरकारले काम गरिरहेको छ ।” 

उहाँले चालु आवको लागि यसअघिको सरकारले विनियोजन गरेको चालुतर्फको बजेटमा खर्च कटौती गरिएको भन्दै ६७ अर्बमध्ये ४१ अर्ब पुँजीगत र २६ अर्ब चालुतर्फ रहेको छ, २६ अर्बबाट साधारण खर्च दुई अर्ब रुपियाँ कटौती गरिएको बताउनुभयो । 

शासन चलाउने र प्रशासन चलाउनेबिचमा भएका नीति नियम अहिले कार्यान्वयन गर्ने कि पछि गर्ने भन्ने सवालमा छलफल हुन्छ र स्वाभाविक हो भन्दै उहाँले अतिरञ्जित गरेर भ्रमपूर्ण सामग्री प्रकाशन प्रशारण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

उहाँले परदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी प्रशासनको पक्षमा वर्तमान प्रदेश सरकार रहेको भन्दै कर्मचारीबाट सेवाग्राहीलाई सहजरुपमा सेवा प्रदान गर्न तत्परताका साथ प्रदेश सरकार लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नागरिकलाई प्रत्यक्ष सेवा दिने प्रदेश सरकार मातहतका यातायात लगायतका कार्यालयलाई गुनासोरहित बनाउने लागेका छाँै ।” प्रदेश सरकारको राजस्वको मूल स्रोत यातायात भएकाले राजस्व वृद्धिका लागि गर्नुपर्ने सुधार र प्रविधिमैत्री बनाउन लागेको भन्दै मुख्यमन्त्री बानियाँले भन्नुभयो, “घरबाटै सेवा पाउने गरी सूचना र प्रविधि प्रयोग गर्न लागेको छ, जनताले सहज र छिटोछरितो रुपमा सेवा पाउने अवस्थाको सुनिश्चितता गर्न सरकार लागेको छ ।”