• १७ वैशाख २०८३, बिहिबार

शिक्षा क्षेत्रमा सहयोग बढाउन शिक्षामन्त्री र फिनल्यान्डका राजदूतबीच छलफल

blog

भेट गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्का।

काठमाडौँ, वैशाख १७ गते । सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव गरिएको हो ।

भेटमा शिक्षामन्त्रीले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा प्राप्त सहयोगको सराहना गर्नुभयो । मन्त्रीले आगामी दिनमा पनि नेपालको शिक्षा लगायतका क्षेत्रमा फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र शिक्षा क्षेत्रमा फराकिलो साझेदारी अभिवृद्धिलगायतका विषयमा गहन छलफल भएको थियो । सो अवसरमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । हाल फिनल्यान्डको सहयोगमा नेपालमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेसन’ परियोजना सञ्चालित छन् ।

नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेसन’ मा फिनल्यान्डको विशिष्ट विज्ञता रहेकाले ती शैक्षिक कार्यक्रममा सहकार्य गर्न आफू इच्छुक रहेको बताउनुभयो । वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफर्मेसन’ को एजेन्डामा समेत फिनल्यान्डले साझेदारी गर्ने इच्छा व्यक्त गरेको छ ।