• १७ वैशाख २०८३, बिहिबार

सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत

blog

म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकी।

याङ्गुन, वैशाख १७ गते । म्यान्माको सैन्य नेतृत्वले सबै कैदीको सजाय एक-छैटौँले घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुकीको नजर बन्द अवधि पनि छोटिन सक्ने सङ्केत देखिएको छ । बिहीबार घोषणा गरिएको यो सामूहिक सजाय कटौतीले देशको राजनीतिक अवस्थामाथि नयाँ बहस सिर्जना गरेको छ ।

राष्ट्रपति बनेका सैन्य प्रमुख मिन आङ ह्लाइङको कार्यालयले सार्वजनिक बिदाको अवसरमा कैदीको बाँकी सजाय एक-छैटौँले घटाइने जनाएको हो । यद्यपि उक्त निर्णयमा कुनै पनि कैदीको नाम सार्वजनिक गरिएको छैन । तर नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) निकट एक स्रोतका अनुसार ८० वर्षीया सुकीले पनि यस कटौतीबाट लाभ पाउने बताइएको छ ।

सन् २०२१ को सैन्य ‘कू’ पछि नजरबन्दमा राखिएकी सुकीको वास्तविक बाँकी सजाय कति छ भन्ने अझै स्पष्ट छैन । एनएलडीका एक वरिष्ठ सदस्यले सुरक्षाका कारण नाम नखुलाउने सर्तमा सुकीको सजाय घटे पनि कति समय घट्यो भन्ने यकिन नभएको बताए । सैन्य नेतृत्वले पाँच वर्षअघि सुकीको निर्वाचित सरकार हटाउँदै सत्ता कब्जा गरेको थियो ।

त्यसपछि उहाँमाथि विभिन्न आरोप लगाउँदै बन्द अदालतमार्फत मुद्दा चलाइएको थियो । भ्रष्टाचारदेखि कोभिड-१९ नियम उल्लङ्घनसम्मका अभियोगमा उहाँलाई तीन दशकभन्दा बढी कैद सजाय सुनाइएको थियो । पछि सन् २०२३ मा केही मुद्दामा आममाफी दिइएपछि उहाँको सजाय २७ वर्षमा झरेको थियो । पछिल्ला निर्णयले भने उक्त सजाय क्रमशः घट्दै गएको सङ्केत दिएका छन् । यस अघि पनि मिन आङ ह्लाइङले यस्तै प्रकारको सामूहिक सजाय कटौतीको आदेश जारी गर्नुभएको थियो, जसले सुकीको सजाय थप घटाएको थियो ।

उक्त निर्णयसँगै सुकीका नजिकका सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि माफी दिइएको थियो । यसले सुकीको नजरबन्द अवस्था पनि क्रमशः खुकुलो हुन सक्ने अनुमानलाई बल दिएको छ । तर म्यान्माको न्याय प्रणाली अपारदर्शी रहेकाले सुकीले हालसम्म कति सजाय भुक्तान गरिसक्नुभएको छ र अब कति समय घट्ने छ भन्ने विषय अझै अन्योलमै छ । राजनीतिक विश्लेषकले यस अवस्थालाई सैन्य नेतृत्वको रणनीतिक कदमका रूपमा हेरिरहेका छन् ।

डेमोक्रेसी सम्बन्धी निगरानी संस्थाले भने यस्ता कदमलाई वास्तविक सुधारभन्दा पनि सरकारको छवि सुधार्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् । उनीहरूका अनुसार सैन्य शासनले अन्तर्राष्ट्रिय दबाब कम गर्न यस्ता प्रतीकात्मक निर्णय गरिरहेको छ । सुकी म्यान्माभित्र अझै पनि लोकप्रिय राजनीतिक व्यक्तित्वका रूपमा रहनुभएको छ । तर उहाँको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै परिवारले चिन्ता व्यक्त गर्दै आएको छ । 

उहाँलाई लामो समयदेखि बाह्य सम्पर्कबाट लगभग अलग राखिएको छ । यसबिच, म्यान्माको राजनीतिक सङ्क्रमण अझै अन्योलपूर्ण अवस्थामा छ, जहाँ सैन्य नेतृत्वका निर्णयले सीमित सुधारको सङ्केत दिए पनि पूर्ण लोकतान्त्रिक पुनः स्थापनाको सम्भावना भने अस्पष्ट देखिएको छ । रासस/एएफपी