• १८ वैशाख २०८३, शुक्रबार

क्षितिज र कृतिसरालाई राष्ट्रिय बुद्धिचाल उपाधि

blog

उपाधिसहित क्षितिज भण्डारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, वैशाख १८ गते । रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो र्‍यापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारीले जित्नुभएको छ । 

काठमाडौँ क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा क्षितिज पुरुष र कृतिसरा महिलामा च्याम्पियन बन्नुभएको हो । 

र्‍यापिडतर्फ २१३६ रेटेट खेलाडी क्षितिजले नवौँ चरणमा ८.५ अङ्क बनाउनुभयो । मकवानपुरका उहाँले व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ प्रदर्शन गर्नुभयो । उहाँ ब्लिट्ज विधामा नौ अङ्क जोड्दै पहिलो हुनुभयो । 

महिला र्‍यापिडतर्फ  १७५९ रेटेड कृतिसराले एकल ६ अङ्क जोड्दै च्याम्पियन बन्नुभएको हो । झापाकी उहाँले व्यक्तिगत २१.८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल प्रदर्शन गर्नुभयो ।

उहाँले ब्लिट्ज विधातर्फ ६.५ अङ्क जोड्दै दोहोरो उपाधि चुम्नुभयो । उपाधिसँगै क्षितिजले ५० हजार रुपियाँ पाउनुभयो । महिलातर्फ विजेता कृतिसराले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै र्‍यापिडतर्फ दोलखाका २११३ रेटेड खेलाडी आशिष फूँयालले आठ अङ्क जोड्दै दोस्रो हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी सात अङ्क जोड्दै तेस्रो हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जनले ७५ अङ्क जोड्दै दोस्रो हुनुभयो । उहाँको हातमा १० हजार रुपियाँ पुरस्कार पायो । दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटी तेस्रो बन्दै सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

नेपाल बुद्धिचाल सङ्घले काठमाडौँ क्षेत्रपाटी क्लबसँग मिलेर आयोजना गरेको तीन दिने राष्ट्रिय प्रतियोगितामा एक सय ८० खेलाडीको सहभागिता रहेको थियो । कूल तीन लाख रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा र्‍यापिडतर्फ दुई लाख र ब्लिट्जतर्फ एक लाख पुरस्कार रहेको थियो । 

प्रतियोगिताका विजेता खेलाडीलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, काठमाडौँ महानगरपालिका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष गोपाल माली, नेपाल बुद्धिचाल सङ्घका प्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

समापन समारोहमा वडा नं. १७ का बासिन्दा एवं चर्चित हांस्य कलाकार हरिवंश आचार्यले बुद्धिचाल खेलले सानैदेखि ब्यक्तिलाई सही बाटोमा डोर्‍याउन सहयोग पुर्‍याउने धारणा राख्नुभएको थियो ।