• १८ वैशाख २०८३, शुक्रबार

म्याग्दीमा सडक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर र चालक पुरिए

blog

चालकसहित पुरिएको एक्साभेटर ।

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख १८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, भिजरास्थित सडक निर्माणका क्रममा शुक्रबार दिउँसो एक्कासि पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन् । भिजरादेखि भजने जाने नयाँ मोटरबाटो खन्ने क्रममा अचानक माथिबाट पहिरो झरेपछि सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रहरीसहितको टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ । पहिरोले मेसिनलाई पूर्णरूपमा पुरेकाले मेसिनभित्र रहेका चालकलाई बाहिर निकाल्न हालसम्म सकिएको छैन ।

पहिरोमा पुरिएको मेसिनभित्र रघुगङ्गा गाउँपालिका–२ निवासी ५२ वर्षीय पदम कार्की रहेको जानकारी प्राप्त भएको छ । मेसिन पहिरोले नराम्ररी थिचिएकाले चालकको अवस्थाका बारेमा तत्कालै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयको टोलीले उद्धारको प्रयास जारी राखेका छन् । भौगोलिक विकटता र निरन्तरको जोखिमका कारण उद्धार कार्यमा चुनौती थपिएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।