काठमाडौँ, वैशाख १८ गते । सशस्त्र प्रहरी बल नेपालमा नेतृत्व हस्तान्तरण भएको छ । सेवानिवृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्याललाई फौजी परम्परा अनुसार स-सम्मान बिदाइ गरियो । सो अवसरमा नवनियुक्त महानिरीक्षक पौडेलले निर्वतमान महानिरीक्षक अर्याललाई मायाको चिनो प्रदान गर्दै हार्दिक बिदाइ गर्नुभयो । यस्तै, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याललाई सङ्घकी उपाध्यक्ष सावित्राकुमारी पौडेलले फूलमालासहित बिदाइ गर्नुभयो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै निर्वतमान महानिरीक्षक अर्यालले सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुगेर सफलतापूर्वक अवकाश हुनु जीवनको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले सङ्गठन सुधार निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा राष्ट्र, सङ्गठन र जनताको सुरक्षालाई सर्वोपरी राखेर काम गरेको बताउनुभयो । “सशस्त्र प्रहरीको बर्दी सज्जनका लागि भर र अपराधीका लागि डरको प्रतीक बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम र जनउत्तरदायी सङ्गठनको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई थप परिष्कृत गर्दै लैजाने उल्लेख गर्नुभयो ।
महानिरीक्षक पौडेलले भन्नुभयो, “उच्च नैतिक आचरण र दृढताले नेतृत्वलाई विश्वसनीय बनाउँछ । जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ ।” उहाँले निर्वतमान महानिरीक्षक अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि सङ्गठनका लागि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा महानिरीक्षक अर्यालको कार्यकाल र योगदान समेटिएको जीवनी प्रदर्शन गरिएको थियो । कार्यक्रममा अवकाशप्राप्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, महिला सङ्घका पदाधिकारी लगायत विभिन्न दर्जाका अधिकृत तथा जवानको उपस्थिति रहेको थियो ।