गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १८ गते । गोरखापत्र दैनिकको प्रधान सम्पादकमा पत्रकार जुनार बस्नेत नियुक्त हुनुभएको छ । गोरखापत्र दैनिकमा २१ वर्षपछि उहाँ प्रधान सम्पादकमा शुक्रबार नियुक्त हुनुभएको हो ।
संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । पत्रकार बस्नेत प्रबन्ध सम्पादक तह १० बाट ११ तहमा बढुवा हुनुभएपछि निमित्त प्रधान सम्पादकबाट प्रधान सम्पादकमा नियुक्त हुनुभएको हो ।

अध्यक्ष भण्डारीद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा लेखिएको छ, “गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली २०८२ को विनियम ४४ को उपविनियम (२) बमोजिम मिति २०८३-०१-१८ गतेदेखि लागू हुने गरी बढीमा २ (दुई) वर्षका लागि नियुक्त गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।”
गोरखापत्र दैनिकमा यसअघि २०६२ पुस १३ गते उद्धवदेव उपाध्याय प्रधान सम्पादकमा नियुक्त हुनुभएको थियो । सोपछि सबैजना निमित्त प्रधान सम्पादकको भूमिकामा रहनुभएको थियो । प्रधान सम्पादक बस्नेत ११ तहमा बढुवा हुनुभएपछि सो अवसर प्राप्त गर्नुभएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
गोरखापत्र दैनिकमा प्रधान सम्पादकको जिम्मेवारी प्राप्त गरी काम गर्ने अवसर पाउनु भएकोमा बधाईसहित कार्यकालको सफलताको शुभकामना दिनुहुँदै अध्यक्ष भण्डारीले भन्नुभयो, “प्रधान सम्पादकमा नियुक्त भई तपाईँले गोरखापत्रमा इतिहास रच्नुभएको छ, यहाँको कार्यकाल पूर्ण सफल रहोस् ।”
पत्रकार बस्नेतको प्रबन्ध सम्पादक तह ११ मा गोरखापत्र संस्थान सञ्चालक समितिले निर्णय गरी वैशाख १७ गते पदोन्नति गरेको थियो ।
पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव समेट्नु भएका बस्नेत वि.सं. २०५० मा उपसम्पादकमा गोरखापत्रमा प्रवेश गर्नुभएको हो। उहाँ सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र निमित्त प्रधान सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो।
उहाँसँग गोरखापत्रको अर्थ ब्युरो प्रमुख, प्रमुख समाचारदाता तथा मुना मासिकको सम्पादक भएर काम गरेको अनुभव छ। उहाँ संस्थानको नेपाली पत्रकारिता ११ तहको प्रबन्ध सम्पादकमा बढुवा भएसँगै प्रधान सम्पादकमा नियुक्त हुनुभएको हो ।
सोलुखुम्बु जिल्लाको साविक नेले–५ मा जन्मनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा दर्शनाचार्य (एमफिल), पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर, भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन, नयाँ दिल्लीबाट आमसञ्चारमा डिप्लोमा हासिल गर्नुभएको छ। उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक पूरा गर्नुभएको छ ।
बस्नेत अर्थ नीति तथा विकास पत्रकारितामा दख्खल राख्नुहुन्छ। उहाँसँग त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराएको अनुभवसमेत छ ।
उहाँले नेपाल प्रेस इन्स्टिच्युट, नेपाल प्रेस युनियन, नेपाल पत्रकार सहासंघ, मिडिया प्वाइन्टलगायत संस्थामा प्रशिक्षकका रूपमा समेत योगदान गर्नुभएको छ ।
उहाँ सम्पादक समाज नेपालको उपाध्यक्ष, नेपाल पत्रकार महासंघको निरन्तर सदस्य तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।
पत्रकारितामा प्रवेश गर्नुअघि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेत प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा अग्रसर रहनुभएको थियो। वि.सं. २०४५–४६ को आन्दोलन उहाँले पाँच महिना बन्दी जीवन बिताउनु भएको छ ।
अन्तर्राष्ट्रिय अनुभवका हिसाबले उहाँले भारत, अमेरिका, चीन, जापानलगायतका मुलुकमा अध्ययन, भ्रमण र तालिमको अवसर प्राप्त गर्नुभएको छ। १२५ वर्ष पुरानो विरासत बोकेको गोरखापत्रको प्रधान सम्पादकको जिम्मेवारी अब उहाँका काँधमा आएको छ।
प्रधान सम्पादक बस्नेतले सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद व्यक्त गर्दै आफूले पदमा रहेसम्म जिम्मेवारी पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्पादकीय शाखामा कार्यरत सबै पत्रकारलाई उहाँले सहयोग गर्न अनुरोध गर्नुभयो ।
प्रधान सम्पादक बस्नेतले आजै प्रधान सम्पादकमा पदबहाली गर्नुभएको छ । उहाँलाई अध्यक्ष भण्डारी, सञ्चालक समितिका सदस्य लक्की चौधरी, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेश लम्सालसहित पत्रकारले पदबहाली गराउनुभयो ।