• १८ वैशाख २०८३, शुक्रबार

अपाङ्गता भएकाहरुमा जलवायु परिवर्तनको असर चित्रकलामार्फत प्रदर्शनी

blog

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कान्छा कुमार कर्माचार्य चित्र कोर्नुहुँदै ।

काठमाडौँ, वैशाख १८ गते ।  अपाङ्गता भएका व्यक्तिमा जलवायु परिवर्तनको असर चित्रकलामार्फत प्रदर्शनी गरिएको छ । राष्ट्रिय अदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) को आयोजनामा शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा सो चित्रकला आयोजना तथा प्रदर्शनी गरिएको हो । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कान्छा कुमार (केके) कर्माचार्यले जलवायु परिवर्तनको असर नागरिकको जीवन, जीव जनावर लगायत भौतिक तथा अभौतिक सबैमा पर्ने भए पनि यसको सबैभन्दा बढी असर अपाङ्गता भएका नागरिकमा पर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा कार्यक्रममा चित्रकला पनि कोर्नुभयो । 

उहाँले भन्नुभयो, “आज यो कार्यक्रम मलाई मन परेको छ किनभने यस्तो कार्यक्रम विरलै हुन्छ । मौसम परिवर्तनले मानिस, जीव, जनावर लगायत भौतिक, अभौतिक सबैलाई असर पार्छ । तर, अपाङ्गता भएकालाई बढी असर पार्छ ।”

सङ्घका अध्यक्ष प्रतिमा गुरुङले चित्रकलामा १४ जना अपाङ्गता भएका कलाकारले भाग लिनुभएको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरबाट यौनिक तथा अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी पीडित भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले सीमान्तकृत समुदायमा कसरी असर पर्छ ? यो चित्रकलाको माध्यमबाट प्रस्तुत गर्नुभएको छ । यसमा भाइबहिनीहरु जोडिनुभएको छ । हामी कसरी समाजमा जलवायु परिवर्तनको विषय न्यायको दृष्टिकोणबाट सम्बोधन गर्न सक्छौं ? अपाङ्गता भएकाको फरक–फरक चुनौतीलाई कलाको माध्यमबाट प्रस्तुत गरिएको छ ।”

बाढीपहिरो, खडेरी लगायत विभिन्न प्राकृतिक प्रकोपबाट सीमान्तकृत एवम् यौनिक तथा अल्पसङ्ख्यक नागरिकको जीवनयापनमा गम्भीर असर पुग्ने गरेको उहाँको भनाइ छ ।