रमेश विश्वकर्मा
गुल्मी, वैशाख १९ गते। गुल्मीमा गत चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको छ।
निर्वाचन आयोगको गत चैत १८ गतेको निर्णय अनुसार यस जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रमलाई तिव्र रुपमा अघि बढाइएको हो।
हालसम्म यस जिल्लामा १२ सयभन्दा बढी मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार १२ सय ७६ जनाको मतदाता नामावली सङ्कलन गरिएको हो। यहाँ राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गराउनुभएको छ।
त्यसैगरी राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराउनुभएको हो।
जसमा राष्ट्रिय परिचयपत्र मार्फत ११ सय १४ जना र कार्यालयमा भौतिक रुपमा उपस्थित भएर १६२ जनाको नाम सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न यस जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरिएको छ।मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका काम गरिएको बताइएको छ। हालसम्म ५० जनाको त्रुटि सच्याउनुका साथै १४० ठाउँसारी गरिएको हो।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेका थिए। जसमा महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता रहेका थिए।