अमरराज नहर्की
तनहुँ, वैशाख १९ गते । तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह गरेको छ ।
नगरपालिकाले विद्यार्थीको भविष्य र पठनपाठनको समय घट्ने भन्दै सङ्घीय सरकारको हिउँदे र बर्खे बिदाबारे नयाँ निर्णय नआएसम्म हप्ताको छ दिन नै कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो ।
नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाउन ६ दिन नै विद्यालय चलाउनुपर्ने उल्लेख छ ।
नगरपालिकाको शिक्षा समिति र कार्यपालिकाको बैठकले यसअघि नै वैशाख ७ गतेदेखि विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
सरकारले वैशाख २१ गतेदेखि मात्र पढाइ सुरु गर्ने र १५ गतेदेखि भर्ना अभियान चलाउने निर्देशन दिएको भए पनि नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महाङ्घले उक्त निर्णयमा पुनर्विचार गर्न शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
यसै सन्र्दभमा वैशाख १६ गते व्यास नगरपालिकामा शिक्षा समिति, प्रधानाध्यापक, शिक्षक महासंघ, प्याब्सन र एन–प्याब्सनका प्रतिनिधिबीच बृहत् छलफल भएको थियो ।
५० दिने हिउँदे र बर्खे बिदा, आइतबारे बिदा तथा अन्य सार्वजनिक बिदाहरू कायम रहँदा विद्यालयको अध्यापन कार्यमा असर पर्ने देखिएको नगर प्रमुख न्यौपानेले बताउनुभएको छ ।
हप्तामा छ दिन पढाउँदा ३३ घण्टा पढाइ हुने गरेकोमा पाँच दिन मात्र पढाउँदा घटेर २७ घण्टा मात्र पढाइ हुने अवस्थालाई दृष्टिगत गर्दै यस्तो निर्णय लिइएको उहाँको भनाइ छ ।
नगर प्रमुख न्यौपानेले विद्यार्थीको भविष्यलाई ध्यानमा राखी सङ्घीय सरकारको हिउँदे र बर्खे बिदाको विषयमा थप निर्णय नआउँदासम्म हप्तामा छ दिन नै कक्षा सञ्चालन गर्न अपिल गर्नुभएको छ ।
यस विषयमा थप निर्णय भने आगामी वैशाख २२ गते बस्ने नगरपालिकाको कार्यपालिका बैठकबाट गरिने विज्ञप्तिमा जनाइएको छ ।